हरि घिमिरे, ०२ असार ।
कपिलवस्तुमा चुरे क्षेत्रको संरक्षणमा जोड दिँदै आज(विहिवार) आठौँ चुरे दिवस मनाईएको छ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको हो । दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिको कार्यक्रम अन्र्तगत कपिलवस्तुको बाणगंगा वडा न. ८ मधुवनमा करिब ७ हजार फलफूल तथा सिसौ, खयर, बडहर, टिक बकाईनो लगाएतका विरुवा रोपिने भएको छ । वृक्षारोपण अभियानको लुम्बिनी प्रदेशमा मुख्य मन्त्री कुल प्रसाद केसिले काजुको विरुवा रोपेर शुमारम्भ गर्नु भएको थियो । वडा न. ८मा बाणगंगा नदिको नदि उकास क्षेत्रमा बिरुवा रोप्दै मुख्यमन्त्री कुलप्रसाद केसीले अहिले भइरहेका कामले केहीसमयमै रोजगारी सिर्जना गर्न सक्ने आधार सहित गरेको लगानीले प्रतिफल दिनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय तह होस वा प्रदेश सरकार सबैले गर्ने कामको नजिता केही समयमा देखिने गरी र त्यसको प्रतिफल लिन सकिने गरी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम आयोजना प्रति केही असन्तुष्ट देखिनुभएका मुख्यमन्त्री केसीले आफुलाई यो कार्यक्रम आयोजना मन नपरेको भन्दै दिगो विकासको अवधारणा सहित दिर्घकालिन योजनाका साथ काम गर्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा आफुलाई बाँसका बिरुवा रोपिने भनिएको तर यहाँ अर्कै जातको बिरुवा रोप्ने कार्य भएको भन्दै यो विना योजनाको कामले कुनै उपलब्धि नदिने उहाँको भनाई थियो । “यहाँहरुले मलाई भन्दा बाँस रोपण छ भन्नुभयो, यहाँ अर्कै रोपण रहिछ”, उहाँले भन्नुभयो ।
प्रदेशका सबै नदी किनारमा बाँसका बिरुवा रोप्ने र यसले अबको १० वर्षमा उत्पादन दिन थाल्छ भन्ने प्रदेश सरकारको रणनिति रहेको पनि उहाँले सुनाउनुभयो । वडाले पनि योजना बनाएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
करिब दश मिनेट कार्यक्रमलाई सम्बोधन गर्नुभएका मुख्यमन्त्री के.सीले आफ्नो सबै समयमा आफुले ठूला कुरा नगर्ने र त्यस्ता कुराले समाजवाद पनि नआउने, मुलुक समृद्ध पनि नबन्ने स्पष्ट पार्नुभयो ।
योजनालाई उत्पादान र उत्पादनलाई रोजगारीसँग जोड्न सकेमा मात्रै अहिले गरेका कामको प्रतिफलमा सन्तुष्ट हुन सकिने बताउनुभयो । औपचारिकता तिरको युग सकिएको भन्दै मुख्यमन्त्री केसीले भन्नुभयो, “जनताले नाराहरु धेरै सुन्नेवाला छैनन्, समृद्धी, समाजवादको कुरा धेरै गर्दाखेरी जनताबाट कम विश्वास हुन थाल्यो । हामीले गरेको लगानीले प्रतिफल के पाइयो भन्ने प्रस्थान विन्दु बनाउनुपर्छ।”
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले आठौँ चुरे दिवसको अवसरमा गरिएको बृक्षरोपणले खाली जमिनको संरक्षण र वन जंगलको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले वृक्षरोपण गरेर मात्रै नहुने भन्दै अब रोपिएका बिरुवाको संरक्षण र विकासमा सबैले ध्यान दिन आवश्यक रहेको पनि बताउनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले मधुवनको बगर क्षेत्रमा करिब ७ हजार बढी बिरुवा रोपिएको बताउनुभयो । उहाँले वडाका तर्फबाट बोटविरुवाको संरक्षण र विकासका लागि बजेट विनियोजन गरिने बताउनुभयो । यस्तै उहाँले चुरे क्षेत्रको संरक्षण र वनको विकासका लागि सबै पक्ष योजनाबद्ध लाग्नुपर्ने उहाँको भनाई थियो ।
असार महिना वृक्षारोपण महिनाका रूपमा मनाउँदै महिनाभरी कम्तीमा पाँच लाख वृक्षारोपण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।
चुरे क्षेत्र भनेको हिमालय पर्वत शृङ्खलाको सबैभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको कमलो र कमजोर पर्वत शृङ्खला हो । यसले देशको करिब १३ प्रतिशत भूभाग ओगटेको छ भने पूर्वमा इलामदेखि पश्चिममा डडेलधुरासम्म ३७ वटा जिल्लाहरूमा यो क्षेत्र फैलिएको छ । पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरे श्रृङ्खला शिवालिकको नामबाट पनि चिनिन्छ । यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको बताइन्छ । चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुको बासस्थान र जैविक मार्ग हो । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरन र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ ।
तराई मधेस मरुभूमीकरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चुरे तराई मधेस क्षेत्रका ३७ जिल्लाका ३ सय २५ पालिकाका झन्डै ५८ लाख मानिसको जीवन पद्धतिसँग सम्बन्धित यो क्षेत्रलाई संरक्षण गर्न समिति गठन गरिएको छ ।
यो क्षेत्रका १ सय ६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवम् जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण संरक्षण क्षेत्र कायम गरी सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको थियो । सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरिरहेको चुरे संरक्षण कार्यक्रममा तीन तहका सरकारबीच समन्वयको अभाव देखिएपछि पालिकामार्फत सञ्चालन हुने गरी गुरुयोजना संशोधन गर्न लागिएको छ ।
प्रतिक्रिया