प्रदेश

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौंः प्रधानमन्त्री




धनगढी, ०४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने बताउनुभएको छ । धनगढी उमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको शनिबार विहान उद्घाटन गर्नुहुँदै उहाँले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने बताउनु भएको हो । ‘गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग आउँदा खुशी लागेको छ’, उहाँले भन्नुभयो । ‘मन्त्रिपरिषद्बाट निर्णय गरी आवश्यक ऐन, कार्यविधि बनाएर यसलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौं ।’ कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा सो कलेजको भौतिक संरचना बनेको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा अहिले धेरै विकास भइसकेको र अझ धेरै गर्न बाँकी रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘पहिले केही थिएन । म एसएलसी दिइसकेपछि डडेल्धुराबाट धनगढी आउँदा केही थिएन । गौरीफन्टा नाका हुँदै मैलानी–लखनऊ–रक्सौलसम्म रेल चढेर त्यसपछि बसमा काठमाण्डौं पुगेको हुँ’, उहाँले भन्नुभयो । ‘अहिले हरेक दिन हवाईजहाज चलिरहेको छ । धनगढीबाट सिधै काठमाण्डौं पुग्न सकिन्छ ।’

प्रधानमन्त्री देउवाले सबैको सहकार्यमा मात्रै मुलुकमा विकासको काम सम्भव हुने उल्लेख गर्नुभयो । ‘कर्मचारी, प्रहरी सबैको सहयोग नहुँदासम्म केही पनि गर्न सकिन्न’, उहाँले भन्नुभयो ।

सोही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजनाको काम चाँडै अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । यसैगरी, महाकाली कोरीडोर, खुटिया–दिपायल र सेती लोकमार्ग गरेर तीन वटै फाष्ट ट्रयाकलाई पनि प्राथमिकता दिन आग्रह गर्नु भएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गौरीफन्टा नाकालाई कैलालीको मातहतमा गर्न, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो । सात कारोड २३ लाख ४५ हजार रुपियाँ लगानीमा धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माण गरिएको हो ।

प्रकाशित : ४ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६