काठमाडौं ६ असार । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले शानदार जित हासिल गरेसँगै आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उम्मेदवार बन्ने होड चलेको छ । खासगरी राजधानी काठमाडौंका विभिन्न क्षेत्रबाट थुप्रै युवाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरिरहेका छन् ।ठूला र शक्तिशाली दलहरुलाई पाखा लगाउँदै बालेन्द्र काठमाडौंको महानगरमा विजयी हुँदा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि उल्लेख्य मत ल्याए । आँखीझ्याल चुनाव चिन्हबाट झण्डै १५ हजार मत ल्याउन सफल भएपछि उनले त्यसबेलै आगामी प्रतिनिधिसभामा पनि उम्मेदवार बन्ने घोषणा गरेका थिए । सोहीबमोजिम सायमीले अहिल्यैबाट आफ्नो चुनावी अभियान थालेका छन् ।
काठमाडौंको क्षेत्र नम्बर ८ का स्थायी बासिन्दा सायमीले सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका हुन् । काठमाडौंको कोर एरियाभित्र पर्ने यो निर्वाचन क्षेत्रमा उनको राम्रो प्रभाव देखिएको छ । यसर्थ आगामी प्रतिनिधिसभा चुनावका उनी एक ‘सिरियस क्यान्डिडेट’ हुन् ।काठमाडौंको सम्पदा संरक्षणमा लामो समयदेखि क्रियाशील छन् सायमी । यसैगरी बाटो चौडा गर्ने नाममा काठमाडौंवासीका घर जथाभावी भत्काइएकोविरुद्ध उनले सडक आन्दोलनका लागि न्यायिक लडाइँ पनि लडे । यसर्थ काठमाडौंका रैथाने नेवार समुदायको उल्लेख्य मत उनले ल्याउने अनुमान छ । यद्यपि चुनाव आउन अझै धेरै समय बाँकी रहेकाले त्यसबेलासम्मको माहोल अहिले नै अनुमान लगाउन सकिँदैन ।सायमी यतिबेला आफूले चुनाव जित्ने ध्याउन्नमा मात्रै छैनन्, अरु स्वतन्त्र उम्मेदवारहरुलाई पनि संगठित गर्न लागिपरेका छन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा गर्ने तयारीमा रहेकाहरुसँग उनको निरन्तर छलफल भइरहेको छ ।सायमीले स्वतन्त्र उम्मेदवारी दिएकाहरु विचारका आधारमा एकजुट हुन खोजेको बताए ।
उनले भने, ‘हामीले स्वतन्त्र उम्मेदवारका रुपमा उठेर दलीय व्यवस्थालाई चुनौती दिन खोजेका होइनौं । न त यो राजनीतिक प्रणाली उल्टाउने नै ध्येय छ । यही प्रणालीभित्र संविधानले दिएको सुविधा उपयोग गरेर विकृत राजनीतिलाई शुद्धीकरण गर्ने मनसाय लिएका छौं ।’गत स्थानीय चुनावको मत परिणामसँगै सायमी काठमाडौंका मेयर बालेन्द्र साहसँग निकट भएका थिए । उनी बालेन्द्रको विजय जुलुसमा पनि सहभागी भए ।
त्यसयता पनि उनीहरुबीच पटक–पटक छलफल भएको छ । यस्तै आफूले धरान उपमहानगरमा स्वतन्त्रबाट जितेको मेयर हर्क साम्पाङसँग पनि छलफल गरिरहेको सायमीले जानकारी दिए ।सायमी भन्छन्, ‘स्वतन्त्रले चुनाव जित्दा कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र ढंगले जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने काठमाडौं र धरानमा समेत देखिएको छ । यो स्पिरिटलाई संसदीय चुनावमा पनि निरन्तरता दिनुपर्छ भन्ने हाम्रो सोच हो ।’सामयीले स्वतन्त्र उम्मेदवारहरुको पनि मापदण्ड बनाउनुपर्ने धारणा राखेका छन् । कसैले स्वतन्त्र हुँ भनेका भरमा स्वतन्त्र मानेर अभियानमा समेट्न नसकिने उनको भनाइ छ ।‘दलहरुले नै स्वतन्त्र भन्दै आफ्नो लगानीमा डमी उम्मेदवार खडा गराउने प्रवृत्ति पनि स्थानीय चुनावमा देखियो’, उनले भने, ‘त्यसैले हामी सचेत हुनु जरुरी छ ।’
स्वतन्त्रभित्रै झमेला
प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने भनेर घोषणा गरेका वरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछानेले आज सामाजिक सञ्जालमा प्रेस नोट भन्दै एउटा स्टाटस लेखेका छन् । त्यसमा उनले स्वतन्त्र उम्मेदवारहरुबीच हिजो छलफल भएर निर्वाचन क्षेत्रको भागबन्डा भएको दावी गरेका छन् । आफ्नो भागमा काठमाडौंको क्षेत्र नम्बर ३ परेको उनको भनाइ छ ।तर, सायमीले यस्तो समझदारी नभएको स्पष्ट पारे । लामिछानेको स्टाटसबाट आफू स्वयम् आश्चर्यमा परेको उनले बताए ।
‘हामीले स्वतन्त्रको क्राइटेरिया बनाउने कुरा गरेका छौं । त्यसका लागि १७ र १८ गते भेला बोलाउने कुरा भएको छ । अहिले को कहाँ उठ्ने भन्ने फाइनल भएको छैन’, सायमीले भने ।सायमीका अनुसार हिजो हरिशरणले उनलाई भाइ रवि लामिछानेसँग भेट गराउने भन्दै बोलाएका थिए । तर, उनी जाँदा त्यहाँ रवि थिएनन् । बरु स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बम, पुष्कर शाहलगायत थिए । केहीबेर छलफलपछि फोटो खिचिएको थियो । त्यही फोटो प्रयोग गर्दै हरिशरणले आफूखुसी ‘प्रेस नोट’ जारी गरेपछि सायमी आश्चर्यमा परेका हुन् ।हरिशरणले काठमाडौं १ बाट पुकार बम, काठमाडौं ५ बाट रञ्जु दर्शना र ८ मा सुमन सायमीलाई स्वतन्त्रहरुको साझा उम्मेदवार मान्ने समझदारी भएको दावी गरेका छन् । यस्तै साइकलयात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्ने उनको प्रेस नोटमा उल्लेख छ ।
‘स्वतन्त्र’ बन्दै पूर्वविवेकशीलका नेताहरु
स्वतन्त्र उम्मेदवार बन्ने दौडमा विवेकशील नेपाली दलका संस्थापक नेताहरु पनि मिसिएका छन् । विवेकशील र साझा पार्टी मर्ज भएर बनेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएसँगै लथालिङ बनेको छ । उक्त पार्टीबाट बहिगर्मित केही नेताहरुले भटाभट काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् ।विवेकशीलबाट अघिल्लो स्थानीय चुनावमा काठमाडौंको मेयरमा लडेर २३ हजारभन्दा बढी भोट ल्याएकी रञ्जु दर्शना आगामी प्रतिनिधिसभा चुनावमा लड्ने भएकी छन् । काठमाडौंको क्षेत्र नम्बर ५ बाट लड्ने उनको उद्घोष छ । यो निर्वाचन क्षेत्रबाट विगतमा विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापाले चुनाव लड्दै आएका थिए । अघिल्लो संसदीय चुनावमा उनले ६ हजार ८५३ मत ल्याउँदै तेस्रो भएका थिए । एमालेका ईश्वर पोखरेलले २३ हजार २९ मतका साथ जित हासिल गरेका थिए ।विवेकशीलका संस्थापक नेता पुकार बमले पनि काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले काठमाडौंको क्षेत्र नम्बर १ बाट उठ्ने भनेर गत जेठ २० गते घोषणा गरेका थिए ।बम केही वर्षदेखि सामाजिक अभियानहरुमा सक्रिय छन् ।
‘इनफ इज इनफ’ अभियानमा उनले सक्रिय भूमिका निभाएका थिए । उनले राजनीतिशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् र हाल पीएचडीको तयारीमा छन् ।
विवेकशील साझा पार्टीका युवा नेता अब्दुस मियाले पनि पार्टी परित्याग गर्दै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले हिजो विज्ञप्ति जारी गर्दै काठमाडौं ६ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । उनी विवेकशील साझा पार्टीको युवा संगठनका संयोजक थिए । रवीन्द्र मिश्रको राजीनामापछि पार्टी अनौपचारिक रुपमा विघटन भएको ठहर गर्दै उनले राजीनामा दिएका हुन् ।
मानुषीदेखि मुकुन्देसम्म
चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि राजनीतिमा लाग्ने भन्दै गत साता टेलिभिजनबाट राजीनामा दिए । उनले काठमाडौंबाट चुनाव लड्ने मनसाय बनाएका छन् । तर, कसरी भन्ने प्रष्ट्याएका छैनन् ।धेरैले उनलाई पनि स्वतन्त्र लड्न सुझाव दिएका छन् । तर, लामिछाने भने आफैं पार्टी गठन गर्ने वा कुनै ठूलो पार्टीमा प्रवेश गर्ने मनस्थितिमा रहेको स्रोतको दावी छ । स्वतन्त्रहरुको छलफल तथा अन्तरक्रियामा उनी अहिलेसम्म सहभागी भएका छैनन् ।पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईकी छोरी मानुषी यमीले पनि उम्मेदवारी घोषणा गरेकी छन् । उनले पनि आफू पार्टीबाट लड्ने वा स्वतन्त्र भन्ने प्रस्ट पारेकी छैनन् । उनी जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । त्यसैले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुको औचित्य हुँदैन ।
काठमाडौंबाटै उम्मेदवारी दिने तयारी गरेका अर्का चर्चित व्यक्ति हुन् रमेश खरेल । नेपाल प्रहरीका पूर्वडीआईजी खरेलले काठमाडौं क्षेत्र नं १ बाट लड्ने बताएका छन् । आफैंले निर्माण गरेको सुशासन पार्टीमार्फत उनले उम्मेदवारी दिन लागेका हुन् । यसअघि उनले काठमाडौंको मेयरमा लड्ने गृहकार्य गरेका थिए । तर, पछि ब्याक भएका थिए । नेपाल प्रहरीमा छँदा राम्रो छवि बनाएका खरेल राजनीतिमा भने खासै जम्न सकिरहेका छैनन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका गायक सञ्जय श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् । पार्टीले टिकट दिए पार्टीबाट नत्र स्वतन्त्र लड्ने उनको भनाइ छ । उनले काठमाडौंको क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने तयारी गरेका हुन् । २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा उनी यही क्षेत्रमा उम्मेदवार बनेका थिए । तर, उल्लेख्य भोट ल्याउन सकेनन् ।
सामाजिक सञ्जालका भाइरल म्यान मुकुन्दे पनि चुनावी दौडमा छन् । उनले एक महिना अगाडि नै आफू काठमाडौं ४ बाट लड्ने घोषणा गरेका थिए । यो कांग्रेस महामन्त्री गगन थापाको क्षेत्र हो । गगनविरुद्ध उम्मेदवारी दिएर केही दिन चर्चामा आउने ध्येयमात्र राखेको धेरैको अनुमान छ । त्यसो त मुकुन्देले मदन भण्डारीको विरासत थाम्ने भन्दै एमालेबाट चुनाव लड्न चाहेको बताएका थिए । तर, एमालेले उनलाई टिकट दिने सम्भावना शून्यप्रायः छ ।
प्रतिक्रिया