कपिलवस्तु, १२ असार ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघको पन्ध्रौँ साधारणसभा तथा सातौँ महाधिवेशनबाट महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ विजयी भएका छन् ।
शनिबार सम्पन्न अधिवेशनअनुसार राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै हिरालाल श्रेष्ठ आगामी ३ वर्षे कार्यकालका लागि महासंघको अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले १ सय २८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ४७ मत मात्र पाए ।
महासंघको वरिष्ठ उपाध्यक्षमा लोकराज पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा कपिलवस्तुका विष्णु न्यौपाने र कृष्णहरि जिसी क्रमशः १ सय ३४ र १ सय ५ मत ल्याई विजयी भएका छन् ।
नवनिर्वाचित उपाध्यक्ष न्यौपानेले मतदान गरि बिजयी गराउनु सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । उनले महासंघको हकहितमा सदैव तत्परताका साथ काम गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।
महासंघको महासचिवमा राजेन्द्र विक्रम बानियाँ दोस्रो पटक पनि निर्विरोध निर्वाचित हुन् सफल भएका छन् । सचिवमा १ सय ३८ मत प्राप्त गरी उमेशचन्द्र मजगैयाँ विजयी भएका हुन् ।
त्यस्तै कोषाध्यक्षमा ओमकृष्ण कार्की निर्विरोध निर्वाचित भएका छन् । महासंघको सह–कोषाध्यक्ष ७९ मत ल्याई राजन केसी निर्वाचित भएका छन् । महाधिवेशनले ७ जना प्रदेश संयोजक सहित १६ सदस्सीय महासंघको नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रदेश १ मा विद्यापति उपाध्याय, मधेस प्रदेशमा ध्रुव अर्याल, बागमती प्रदेशमा अर्जुनबहादुर सापकोटा, गण्डकी प्रदेशमा विकास थापा, लुम्बिनी प्रदेशमा यम प्रसाद पाण्डे, कर्णाली प्रदेशमा प्रकाश अधिकारी र सुदूरपश्चिम प्रदेशमा मेघराज भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र सह–कोषाध्यक्ष निर्वाचित गर्न मतदान भएको थियो भने अन्य पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झण्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया