काठमाण्डौं, १२ असार ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति खनिएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने अधिकांश एमाले सांसदहरूले सरकार जनताको शान्ति सुरक्षा र समस्याप्रति उदासीन भएको आरोप लगाएका छन् ।
सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई परेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णभक्त पोखरेलले चितवनमा बाढीपहिरो र डुबानका समस्याबारे सरकारको ध्यानाकर्षण गरे ।
सांसद खगराज अधिकारीले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै सरकारका मन्त्रीहरू कमिसनमा लिप्त भएको आरोप लगाए । सांसद गंगा चौधरीले जेलमा रहेका अभियुक्त छुटाउन महान्यायाधिवक्ता नै लागिपरेको भन्दै महान्यायाधिवक्ताले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । सांसद झपट रावलले शून्य समयलाई नसुन्ने समयको रूपमा परिवर्तन गर्न आग्रह गरे ।
प्रतिक्रिया