प्रदेश

उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन गर्न माग




काठमाण्डौं, १२ असार ।
प्रतिनिधिसभा सदस्य अमृता थापाले उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी छन् । आइतवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य थापाले उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको पद लामो समयदेखि खाली भएको उल्लेख गर्दै तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी हुन् । उनले स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खाली भएको भन्दै कानून संशोधन गरेर भएपनि खाली ठाउँमा जनप्रतिनिधि पूर्ति गर्ने व्यवस्था गर्न पनि माग गरिन् ।

प्रतिनिधिसभा सदस्य आशाकुमारी बिकले गत कार्तिक ३० गते बझाङमा आएको वर्षाले ११ सय घर परिवार विस्थापित भएको भन्दै पूर्ण क्षति भएका घरहरु अझै बन्न नसकेकोप्रति सरकारको जवाफ माग गरिन् । उनले विपद् व्यवस्थापनमा सरकारको तयारी के छ त्यसको पनि जवाफ माग गरिन् । प्रतिनिधिसभा सदस्य इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिक सरह कष्टकर जीवन बाँच्नुपरेको बताइन् । उनले संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग गरिन् ।

प्रतिनिधिसभा सदस्य कलिला खातुनले काठमाडौंमा हैजा फैलिएको समाचारहरु आएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गरिन् । प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले गत जेठ १४ गते बजेट तयारीका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिहरुको हस्तक्षेप भएको भन्दै उनले अर्थ मन्त्रालयको सो दिनको फुटेज सार्वजनिक गर्न माग गरे ।

प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराए । उनले सांसदहरुलाई पनि विपद् अनुगमनका काममा प्रत्यक्ष सहभागी हुन आग्रह गरे । उनले नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक रुपमा हुने पहिरोको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गरे ।

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव संसदीय समितिमा लगेर छानबिन र सुनुवाई हुनुपर्ने बताए । प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले बजारमा महँगी बढेकाले बजारमा हुने कालाबजारी र महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा सदस्य गंगा चौधरी सत्गौवाले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको बताइन् । मुद्दा कमजोर बनाउन नमान्ने सरकारी वकिल संगीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उनले सरुवा बदर गर्न माग गरिन् ।

प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गरिन् । साभार

प्रकाशित : १२ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६