कुलराज भुसाल
कपिलवस्तु १२ असार। कपिलवस्तुको बाणगंगामा अनुसन्धान सम्बन्धि राष्ट्रिय सम्मलेन सम्पन्न भएको छ ।जिल्लाको इतिहासमै पहिलो पटक अनुसन्धान सम्बन्धि राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न भएको हो । कपिलवस्तुको एक मात्र गुणस्तर प्रमाणित शैक्षिक संस्था सिद्धार्थ क्याम्पस बाणगंगा ले विश्वविद्यालय अनुदान आयोगसंग को सहकार्यमा यस्तो सम्मेलन सम्पन्न गरेको हो । ‘शिक्षामा कोभिड– पश्चातका चुनौतीहरु र अनुसन्धान व्यवस्थापन’ विषयमा शनिबार देखि सिद्धार्थ क्याम्पसको सभाहलमा सुरु भएको २ दिने राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको हो ।सम्मेलनमा देशका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरुमा कार्यरत प्राध्यापक एवं अनुसन्धानकर्ताहरुले आ–आफ्ना अनुसन्धान–पत्र प्रस्तुत गर्नुभएको थियो । एक दर्जन बढि अनुसन्धानकर्ताहरुको अनुसन्धान–पत्र प्रस्तुत भएको उक्त सम्मेलनमा नेपाल खुला विश्वविद्यालयका प्राध्यापकद्वय डा. कर्ण राना जीवन खनालको सहजीकरणमा अनुसन्धान–पत्र उपर टिप्पणी, बहस तथा छलफल भएको थियो ।
उक्त सम्मेलनमा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर अरुण क्षेत्रीले ‘नेपालको शिक्षामा कोभिड अवधि र कोभिड पछिको अवधिमा देखिएका चुनौती’ शीर्षकमा आफुले गरेको अनुसन्धानको मूख्य सार प्रस्तुत गर्नुभएको थियो ।त्यस्तै नेपाल खुला विश्वविद्यालयकी प्राध्यापक एवं अनुसन्धानकर्ता सुवेक्षा घिमिरेले ‘अनलाइन सिकाइमा कोभिड–१९ चुनौतीको प्रभाव’ विषयमा आफ्नो अनुसन्धान–पत्र प्रस्तुत गर्नुभएको थियो । भने,रामापुर बहुमुखी क्याम्पस रुपन्देहीका प्राध्यापक दिनेश पन्थीले ‘कोभिड–१९ को अवधिमा सामुदायिक क्याम्पसहरुमा अनलाइन शिक्षण’ सम्बन्धी आफ्नो अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।सम्मेलनमा फर्साटिकर क्याम्पस रुपन्देहीका प्राध्यापकएवं अनुसन्धानकर्ता दिपक काफ्लेले पनि ‘नेपाली विद्यालयहरु अग्रेजी माध्यममा बद्ल्नु ः मिथक र तथ्य’ शीर्षकमा आफ्नो अनुसन्धान–पत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी महाकवि देवकोटा क्याम्पस नवलपरासी पश्चिमका प्राध्यापक हरि बस्याल, सोही क्याम्पसका विकास राना तथा सिद्धार्थ क्याम्पस बाणगंगा, कपिलवस्तुका प्राध्यापक एवं अनुसन्धानकर्ताहरु प्रभातविक्रम क्षेत्री, अनिमा जिसी, गोविन्द पोख्रेल, कृष्णप्रसाद भट्टराई, इन्द्रमणी पाण्डे, उमेशकुमार सापकोटा, उज्ज्वल अधिकारी लगायतले शिक्षा, समाजशास्त्र र व्यवस्थापन विषयमा केन्द्रीत भई तयार गरेका अनुसन्धान–पत्रहरु उक्त सम्मेलेनमा प्रस्तुत गर्नुभएको थियो ।सम्मेलनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले कोभिड–१९ले विश्वव्यापी रुपमा ठुलो हलचल ल्याएको बताउनुभयो । सांसद पन्थीले दोस्रो विश्वयुद्ध पछि कोभिड–१९ले नैविश्व अर्थ व्यवस्थालाई सबैभन्दा बढि अस्तव्यस्त बनाएको दावी गर्नुभयोे ।कोभिडको कारण दुई वर्षसम्म सारा विद्यार्थीहरुको सिकाइ प्रभावित भएको र सिकाई बिना नै कक्षा चढाउनु पर्ने वाध्यता आएको पन्थीले बताउनुभयो । यद्यपी कोभिड–१९ले नेपालीलाई आत्मनिर्भर हुनुपर्ने र प्रविधिको प्रयोग तथा पहुँच विस्तार गर्नुपर्ने कुरा सिकाएर गएको उहाँले औंल्याउनुभयो ।
सांसद पन्थीले नेपालीभाषाको विकास र विस्तारमा अनुसन्धान केन्द्रीत हुनुपर्नेमा समेत जोड दिनुभयो ।उहाँले भर्खर विद्यालय शिक्षा सुरु गर्दै गरेका बच्चालाई अंग्रेजी भाषा सिक्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गर्न नहुने तर्क गर्नुभयो ।विद्यालय शिक्षाको सुरुवाती चरण उनिहरुकै मातृभाषा वा नेपाली भाषामा नै शिक्षा दिने पछि आवश्यकता अनुसार विस्तारै अंग्रेजी भाषापनि सिकाउदै जानुपर्ने उहाँको तर्क थियो ।उक्त सम्मेलनमा कपिलवस्तु लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका क्याम्पसमा कार्यरत करिब एकसय जना प्रध्यापक तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहेको थियो ।
१२ असार २०७९, आइतबार
प्रतिक्रिया