रुकुम पूर्व १४ असार ।रुकुम(पूर्व)मा धान खेती घट्दै गएको छ । पहिलेको तुलनामा पछिल्ला केही वर्षमा यस जिल्लामा धानखेती घटेको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम(पूर्व) ले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/ ७५ भन्दा अघि जिल्लाको ५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको थियो ।कार्यालयका कृषि अधिकृत थलबहादुर बस्नेतका अनुसार पाँच वर्ष अघिसम्मको जिल्लाको तथ्याङ्कमा धान खेती भइरहेको क्षेत्रफल पाँच हजार ३७ दशमलव २८ हेक्टर थियो ।
अहिले जम्मा एक हजार ४१९ दशमलव ४२ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको कृषि अधिकृत बस्नेतले बताउनुभयो । पहिले जिल्लाको तीन वटै पालिकाको विभिन्न ठाउँमा हुने धानखेती अहिले दुई वटा पालिकामा मात्र सीमित छ ।विगत केही वर्षयता पुथा उत्तरगङ्गा गाउँपालिकामा धानखेती हुन छोडेको छ । भूमे गाउँपालिकाको ३ नम्बर वडा सीमाको थोरै क्षेत्रमा मात्र धानखेती हुने गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम(पूर्व) ले जनाएको छ । सिस्ने गाउँपालिको भने ३, ४, ५, ६, ७ र ८ नं वडामा धानखेती हुँदै आइरहेको छ । यी ठाउँको खेतमा पनि पहिलेको जस्तो धानखेती भने हुँदैन् । विस्तारै प्रायः मानिसले खेतलाई बाँझो छोड्दै गएका छन् ।
प्रतिक्रिया