कपिलवस्तु १४ असार । अहिले देशभर रासायनिक मलको अभाव छ । लुम्बिनी प्रदेशका किसान पनि मलको अभावले मारमा परेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष मलको अभाव अझ चरम बनेको हो । सरोकारवालाहरुका अनुसार ९० प्रतिशत किसानले मल पाएका छैनन् । मौसमले साथ दिएपछि धान रोपाइँ सुरु गरेका किसानले डीएपी मल पर्याप्त मात्रामा पाएका छैनन् भने युरिया मलको चरम अभाव छ ।यद्धपी सिमावर्ती क्षेत्रका किसानलाई भने भारतकै भर हुने गरेको छ । उनीहरुले भारतवाट लुकिछिपी मल ल्याएर काम चलाउने गरेका छन् ।
लुम्बिनी प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ्गले ३० प्रतिशत मल उपलब्ध गराउने भनिए पनि अहिले कृषकलाई मलको अभाव हुँदा ती निकाय रमिते बनेका छन् । कृषि सामग्री कम्पनीसँग डीएपी ८५३ टन, पोटास १ हजार टन रहेको तर युरिया मलको मौज्दात शून्य रहेको जनाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय रुपन्देहीका प्रमुख नारायणप्रसाद शर्माले डीएपी मल पर्याप्त मात्रामा नभएको र युरिया मल अहिलेसम्म नआएको जानकारी दिए ।
१४ असार २०७९, मंगलबार
प्रतिक्रिया