बिकास थापा
कपिलवस्तु १६असार ।दायित्व नेपाल जनप्रशासन फेलोशिप कार्यक्रम २०२१ र २०२२ को दीक्षान्त समारोह भर्चुअल रुपमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगका सहसचिव प्रकाश दाहालको प्रमुख आतिथ्यतामा भएको दिक्षान्त समारोहमा दायित्व नेपाल जन प्रशासन फेलोहरुलाई बधाई र सम्मान गरिएको छ । २०२१ मा छनौट भएका १५ र २०२२ मा छनौट भएका २३ जना गरि ३८ जनालाई दिक्षान्त समारोहमा आफ्नो जिम्मेवारीलाई प्रभावकारी ढंगले सम्पन्न गरी उपलब्धी हासिल गरेको भन्दै बधाईका साथ सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय योजना आयोगका सहसचिव प्रकाश दाहालले युवाहरुको सहकार्यले पालिका संगै सरकारी स्तरमा भएका योजनाबाट राम्रो नतिजा हासिल हुने बताउनुभएको छ ।
सरकारी स्तरका माथिल्ला तहमा युवाहरु आउनुपर्ने भन्दै दायित्व संगै अन्य संघ सस्थाले गर्ने युवाका रचनात्मक र सिर्जनात्मक कार्यहरुमा सहकार्य र सहयोग गर्न तयार रहेको बताउनुभयो । यस्तै समारोहका अध्यक्ष समेत रहनुभएका दायित्वका संस्थापक अध्यक्ष डा. पुकार मल्लले सबै फेलोहरुलाई धन्यावद र बधाई ज्ञापन गर्नुभयो । उहाँले कार्यक्रमलाई सफल रुपमा सम्पन्न र आफ्नो जिम्मेवारीलाई समयमै पूरा गरेको प्रति खुसी व्यक्त गर्दै दायित्वले आगमी दिनमा गर्ने योजनाका विषयमा पनि जानकारी गराउनुभएको थियो ।
यसैगरी समारोहका उद्देश्यप्रति प्रकाश पार्दै दायित्वका कार्यकारी निर्देशक सुसित ढकालले स्थानीय नीति तथा कार्यक्रमको अनुसन्धान, तर्जुमा र कार्यान्वयनमा स्थानीय सरकार जनअधिकार र निर्वाचित जनप्रतिनिधिहरूलाई सहयोग गर्न फेलोशिप कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । युवा–सरकारको सहयोग र प्रमाणमा आधारित नीति निर्माणलाई बलियो बनाउन थप नया कार्यक्रम दायित्वले ल्याउने पनि उहाँको भनाई छ ।
यस्तै २ चरणका जनप्रशासन फेलोशिप कार्यक्रम सञ्चालनको प्रक्रिया र भएका कामहरुको बारेमा जनप्रशासन फेलोशिप कार्यक्रमका संयोजक कृपा श्रेष्ठले जानकारी गराउनुभएको थियो । उहाँको अनुसार २ चरणमा गरी ६ प्रदेशका ३४ वटा स्थानीय पालिकामा ३८ जना फेलोहरु छनौट भई पहिलो चरणमा ३ महिना र दोस्रो चरणमा ४ महिना पालिका संग सहकार्य गरी विभिन्न कार्यक्रमहरु भएका थिए । फेलोहरु मध्य कसैले अनुसन्धानको पाटो रोज्नुभएको थियो भने कसैले निति निर्माण र कार्यान्वयनको पाटोमा पालिकालाई सहयोग गर्दै आएका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीता , सामाजिक सुरक्षा भत्ताले एकल महिलामा पारेको प्रभाव ,मदिरा नियन्त्रणमा पालिकाको पहल ,कृषि अनुदान ,बालबालिका हक अधिकारका विषय , उद्यमशिलता ,सिपमुलक तालिमले जिवनमा पारेका प्रभाव ,पशुपालनमा ल्याएका कार्यक्रमको प्रभावकारीता ,पर्यटन क्षेत्र , प्लाष्टिक टनेलको प्रभावकारीता, लगाएतका विषयमा आआफ्नो रिपोर्ट तयार गरि पालिकालाई बुझाईसकेका छन् । यस्तै जनप्रतिनिधि संग नागरिक जस्ता महत्वपूर्ण कार्यक्रम र युवाका बिचमा विभिन्न अभियान पनि सञ्चालन भएका थिए । यस्तै कार्यक्रममा समग्र आफ्नो अनुभवका साथ पालिकालाई सुझाब दिदै कपिलवस्तुबाट बिकास थापा र ललितपुरबाट लसता महर्जनले आआफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन दायित्वका कम्युनिकेसन लिड सिरसा रिसालले गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी – USAID र FHI 360 को सहयोगमा यस दायिव्व नेपाल जनप्रशासन कार्यक्रम २०२१ र २०२२ सञ्चालन भएको थियो ।
प्रतिक्रिया