प्रदेश

आयोगले माग्यो सरकारसँग विद्युतीय मतदान मेशिन




काठमाण्डौ, १६ असार । निर्वाचन आयोगले आउने चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सरकारसँग मेशिन माग गरेको छ । आयोगले आउने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्नका लागि साउनभित्रै उपलब्ध गराउन सरकारसँगै माग गरेको हो ।

आयोगले नेपालमै निर्मित मेशिन तत्कालै उपलब्ध नहुने अवस्था आएमा आउँदो साउनसम्म विदेशबाट किनेरै भए पनि उपलब्ध गराउन आग्रह गरेको छ । यसका लागि आयोगले विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेस गरिसकेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज बिहीवार एक विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।

निर्वाचन आयोगले विद्युतीय मतदानका विषयमा अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो । त्यही समितिले विद्युतीय मतदान यन्त्र प्रयोगको विषयमा सुझावसहितको प्रतिवेदन दिएको छ भने कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाएको हो । विद्युतीय मतदान यन्त्रबाट मतदान गर्दा मत बदर हुने सम्भावना हुँदैन । मतपत्रमार्फत मतदान गर्दा पाँचदेखि आठ प्रतिशतसम्म मत बदर हुने गरेको पाइएकाले विद्युतीय मतदान मेशिनका सम्बन्धमा लामो समयदेखि चर्चा हुँदै आए पनि कार्यान्वयन भने भएको छैन ।

गएको वैशाख ३० गते भएको पालिका चुनावमा पनि निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले विद्युतीय मेशिनबाट मतदान गर्न सुझाव दिए पनि कागजी मतपत्र नै प्रयोग भएको थियो । यसअघि २०६४ सालको संविधान सभा चुनावमा ६ वटा निर्वाचन क्षेत्रमा र २०७१ सालको संविधान सभाको उपचुनावमा पाँच वटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेशिनको प्रयोग भएको थियो ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६