प्रदेश

व्यायामशालाप्रति आकर्षण बढ्यो




बुटवल, असार २२ । रुपन्देही जिल्लाको बुटवल, सैनामैनालगायत विभिन्न १० स्थानमा स्थापना भएका खुला व्यायामशालाहरू शारीरिक तन्दुरुस्ती कायम राख्नेहरूका लागि आकर्षक गन्तव्य बनेका छन् । बुटवल उपमहानगरपालिकाले सात र सैनामैना नगरपालिकाले तीन स्थानमा खुल्ला व्यायामशाला निर्माण गरेपछि स्थानीय युवा तथा व्यायामप्रेमीहरूको आकर्षण बढेको हो । ती क्षेत्रमा घुमफिरसँगै कसरत गर्ने र व्यायाम गर्नेहरूको चाप बढ्दै गएको छ ।
पछिल्लो समय प्रायः सबै जना योगप्रति आकर्षित भइरहेको बेला घर नजिक स्थापना भएका यस्ता खुला व्यायामशाला पुगेर तौल घटाउने, शारीरिक तथा मानसिक तन्दुरुस्ती कायम गर्नेहरूका लागि उपयुक्त बनेका छन् । स्थानीय विमल थापा खुला व्यायामशालाहरू शारीरिक मात्र होइन मानसिक तनाव कम गर्ने निकै उपयोगी स्थानका रूपमा लोकप्रिय बन्दै गरेको बताउनुहुन्छ । सैनामैना नगरपालिकाले नगरका विभिन्न तीन स्थानमा खुला व्यायामशालाको निर्माण गरेपछि बिहान बेलुका व्यायाम गर्नेहरूको चाप बाक्लिँदै गएको छ ।
सैनामैनाको वडा नम्बर ११ सालझन्डी, ६ मलमला क्षेत्र र २ बोलबम पार्कमा खुला व्यायामशाला निर्माण गरिएका छन् । यहाँ बिहान, दिउँसो र साँझको समयमा पनि सर्वसाधारण आउने गर्छन् । सालझन्डीकी उमा अर्याल मोटो शरीर र तौल घटाउने चिन्तामा हुनुहुन्थ्यो । तर अगाडि खुला व्यायामशाला निर्माण भएपछि नियमित अभ्यास गर्दै आएको उहाँ बताउनुहुन्छ । यहाँ हात, खुट्टा, कम्मर, घाँटी, ढाड, पेटलगायत शरीरका विभिन्न अङ्गहरूको व्यायाम हुने ११ थरी उपकरण जडान गरिएका छन् ।
खुला व्यायामशाला निर्माणपछि कतिपयको बिहान र साँझको दैनिकी व्यायामशाला आउने र कसरत गर्नेमै वित्ने गरेको छ । सालझन्डीको व्यायामशालामा बालकदेखि वृद्धसम्मका हरेक उमेर समूहका मानिस आफू अनुकूल समय मिलाएर शारीरिक अभ्यास गर्न आउने गर्छन् ।
मलमलास्थित खुला व्यायामशालामा भेटिनुभएका भड्छाका रमेश पौडेल शरीरको मोटोपन कम गर्ने र तन्दुरुस्ती बढाउने उपकरण रहेका कारण आफूजस्ता युवाका लागि राम्रो गन्तव्य बनेको बताउनुहुन्छ । पहिले युवा जिम जान्थे तर अहिले नगरपालिकाले स्थापना गरिदिएका व्यायामशाला गएर उपकरणसँगै रमाउने गरेका छन् । युवा, पाको र मोटो सबै किसिमका व्यक्ति उक्त ठाउँमा आउने गरेका छन् ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६