काठमाण्डौ, २५ असार । वाग्मती प्रदेश सरकारको सहयोगमा काठमाण्डौमा नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने भएको छ । सङ्ग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपाल चिकित्सक सङ्घसँगको सहकार्यमा सङ्ग्रहालय स्थापना गर्न लागिएको हो । सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा सङ्ग्रहालय स्थापना गर्ने निर्णय भएको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सङ्ग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्रीको सङ्ग्रह गरिनेछ । सङ्ग्रहालयमा पुराना औजार, चिकित्सा उपकरण लगायत सामग्री राख्ने तयारी छ । नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रोस्कोपलगायत सामग्री सङ्ग्रहालयमा राखिने सङ्घका अध्यक्ष डा लोचन कार्कीले बताउनुभयो । स्वास्थ्यसम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ । केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको सङ्घले जनाएको छ ।
नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्शन, तस्बिर, सङ्घका निर्णय पनि सङ्ग्रहालयमा राखिने जनाइएको छ । सङ्ग्रहालयले स्वास्थ्य पर्यटन प्रबर्द्धनमा पनि सहयोग पुग्ने आशा गरिएको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले खेलकुद, स्वास्थ्यलगायत पर्यटन प्रबर्द्धनका काम गरिरहेको बताइएको छ । रासस
प्रतिक्रिया