प्रदेश

कुखुराको अवैध आयातका कारण स्थानीय व्यवसाय संकटमा



नेपालगञ्ज, ७ साउन । बाँकेका कुखुरा व्यवसायीले भारतबाट भइरहेको कुखुरा र चल्लाको अवैध आयात रोक्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् ।
भारतबाट अवैधरुपमा कुखुराको आयात निरन्तर जारी रहेकाले नेपाली किसानका कुखुरा विक्री हुन छाडेको गुनासो गर्दै कुखुरापालक व्यवसायीले जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अवैध आयात रोक्न गुहारेका हुन् ।
भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा सस्तोमा पाइने भएपछि विक्रेताहरुले नेपाली किसानका कुखुरा किन्न छोडेपछि सो रोक्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेका सचिव प्रदीप कँडेलले बताउनुभयो ।
पछिल्लो दुई सातायता नेपाली किसानका कुखुराहरु विक्री नभएको गुनासो गर्दै सचिव कँडेलले कुखुरा विक्री नहुँदा मर्न थालेको र दानाको लागत पनि खेर गइरहेको बताउनुभयो । बाँकेको नरैनापुर र खजुराको सैनिक तथा परसपुर र जमुनाहाबाटै धेरैजसो कुखुरा तस्करी हुने गरेको कुखुरापालक नेपाली किसानको गुनासो छ ।
भारतबाट आउने कुखुराबाट पंक्षीजन्य रोगहरु भित्रने खतरा रहेको र नेपालमै मागलाई धान्ने गरी पञ्क्षीजन्य उत्पादन भइरहेकाले सरकारले भारतबाट आयातमा प्रतिबन्ध लगाए पनि कुखुराको अवैध आयात भने निरन्तर जारी छ ।
अवैध आयात नरोकेमा नेपाली किसान र व्यवसायीको करोडौं लगानी डुब्ने र व्यवसाय नै धरापमा पर्ने जनाउँदै तत्काल सो रोक्न माग गर्दै नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेले प्रमुख जिल्ला अधिकारीलाई एक मागपत्र पनि बुझाएको छ ।
सो मागपत्रमा प्रहरी प्रशासनले कुखुराको अवैद्य आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको जानकारी गराइएको नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेले जनाएको छ ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६