विराटनगर १० साउन
नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ मा १ अर्ब ४१ करोडभन्दा बढी नाफा भएको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणले आफ्ना ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षमा मात्रै ५० हजारभन्दा बढी ग्राहक थपिएका छन् । अब प्रदेश १ मा विद्युत् उपभोग गर्ने ग्राहकको संख्या ९ लाख ७ हजार हाराहारी पुगेको छ ।
प्रदेश कार्यालयका प्रमुख राजन ढकालले दिएको जानकारी अनुसार प्रदेश १ मा चुहावटको दर पनि केही घटेको छ । अघिल्लो वर्ष १२ प्रतिशतले चुहावट हुँदा गत वर्षको चुहावट दर भने ११.७ प्रतिशतमा आइपुगेको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७८÷०७९ मा मात्रै समयमै महशुल नबुझाउने २८ हजार ५ सय ग्राहकको लाइन काटेको छ । जसमध्ये २५ हजार १ सय २२ जनाले पुनः लाइन जोड्दा ३९ करोड ८५ लाख महशुल संकलन भएको ढकालले जानकारी दिए । सबैले लाइन जोड्दा भने ४३ करोड महशुल उठ्नुपर्ने थियो । यद्यपि ९२.८ प्रतिशत ग्राहकबाट महशुल उठ्नु राम्रो संकेत भएको ढकालले बताए ।
१० श्रावण २०७९, मंगलबार








प्रतिक्रिया