काठमाडौ १४ साउन ।नेपालमा दोस्रो आर्थिक शक्ति चीनसँग टक्कर लिइरहेको विश्व शक्ति अमेरिकाले सरकारसँगै नीजि क्षेत्रसँग गहिरो सहकार्य गर्ने तयारी गरेको छ।सरकारसँग अनुदान सहायता र साझेदारीका कार्यक्रमसँगै व्यापार र वाणिज्य प्रवद्र्धनमा भने अमेरिकाले नेपालको नीजि क्षेत्रसँग पनि व्यापक साझेदारी थालेको हो।नेपालको पहिलो अमेरिकन चेम्बर अफ कमर्स (अमचेम) स्थापना भएको आठ महिनापछि शुक्रबार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले यहाँको व्यापार र वाणिज्य क्षेत्रको प्रवद्र्धनमा अमेरिकाले तीन अर्ब डलर लगानी गर्ने बताएका छन्।
‘अमेरिकी सहायक विदेशमन्त्री लुले व्यापार र वाणिज्य क्षेत्रको प्रवद्र्धनका लागि नेपालको नीजि क्षेत्रमा दुई–तीन अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाए’, प्रधानमन्त्री सचिवालयका एक अधिकारीले भने, ‘त्यसबाट ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने छलफल प्रधानमन्त्री देउवा र लुबीच भएको छ।’यसअघि पनि नेपालको नीजि क्षेत्रसँग अमेरिकाले साझेदारी गर्दै नै आएको थियो। तर चीनले व्यापार र उद्योगको क्षेत्रमा लगानी बढाएसँगै अमेरिकी लगानी बढ्न थालेको मानिएको छ।
‘अमेरिकाको निरन्तरको विकास सहकार्यका लागि धन्यवाद दिन चाहन्छु। आगामी दिनमा अझ उच्चस्तरको आर्थिक सहकार्यको अपेक्षा गरेको छु,’ प्रधानमन्त्रीले लुसँगको भेटपछि ट्विटमा भनेका छन्।मध्य र दक्षिण एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आएको अवसरमा अमेरिकी दूतावासले बिहीबार व्यवसायी तथा सरकारी नेतृत्व कर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकास प्रवद्र्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठीे आयोजना गरेको थियो।जसमा दूतावासका कार्यबाहक राजदूत म्यानि पी। मिक्कलर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आफ्ना धारणा राखेका थिए।
नेपाल र अमेरिकाबीच वार्षिक व्यापार ६७ अर्ब रुपैयाँ माथि पुगेको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा अमेरिकाबाट ५० अर्बको आयात गर्दा नेपालले १७ अर्ब ९९ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। कोभिड माहामारीको समयमा पनि नेपाल र अमेरिकाबीच वार्षिक ३३ अर्ब बढीको व्यापार भइरहेको थियो। आर्थिक वर्ष २०७७/०७८ मा अमेरिकाबाट १९ अर्ब ५० करोडको आयात भएको थियो भने निर्यात १३ अर्ब ७९ करोडको भएको तथ्यांकले देखाएको छ।
१४ श्रावण २०७९, शनिबार
प्रतिक्रिया