प्रदेश

स्थानीय निर्वाचनमा गठबन्धनले धोका दियो, अब सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौंः माधव नेपाल



डोटी, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् । ‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।’ उनले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताए ।

अबको संघ,प्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने नेपालको भनाइ छ । ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ’ एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’ उनले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने बताए । उनले भने, ‘चुनावी मोर्चा बन्न सक्छ, गठबन्धन हुन सक्छ तर अहिल्लै पार्टी एकता हुँदैन ।’ पार्टी एकताको लागि गृहकार्य भने भइरहेको नेपालले बताए ।

वर्तमान सत्ता गठवन्धन अवको चुनावसम्म पनि कायम राख्नु पर्ने नेता नेपालको भनाइ छ । ‘विचार र मान्यताबाट सिर्जना भएको गठबन्धनको औचित्य समाप्त भएको छैन’ उनले भने ‘हामीले गठबन्धनलाई कायम राख्न चाहेका छौं तर चुनावी तालमेलका लागि कसले कति लचकता अपनाउन सक्छन् भन्ने कुरामा गठबन्धन भर पर्छ ।’

नेपालले नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो भएको बताए । ‘केशरजंग राइमाझीको कम्युनिष्ट पार्टीले राजाको निरंकुशतालाई समर्थन गर्‍यो, नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा आन्दोलन गर्‍यो’ नेपालले भने ‘नाम मात्रै कम्युनिष्ट पार्टी भएर हुँदैन, व्यवहारबाटै कम्युनिष्ट हुनु पर्छ ।’ आफूहरूले सच्चा कम्युनिष्ट पार्टी वनाउन खोजेको नेपालको दाबी छ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६