प्रदेश

बुटवल, पाल्पा केबलकार आउँदो माघदेखि सञ्चालनमा आउने



काठमाण्डौ, १६ साउन । रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालनमा आउने भएको छ ।

भर्खरै सम्पन्न कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आउँदो पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताउनुभएको हो । झन्डै तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क र मन्दिरसहितका संरचनाहरू निर्माण हुनेछन् । केबलकारको तल्लो स्टेशनसम्म पुग्ने झन्डै चार सय मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ ।

‘तल्लो स्टेशनको सब–इस्ट्रक्चरको निर्माण कार्य झन्डै सम्पन्न भइ सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ । नौ वटा टावरमध्ये आठ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडि बढिरहेको छ’, कम्पनीका अध्यक्ष ढकालले भन्नुभयो । उहाँले माथिल्लो स्टेशनमा सब–इस्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरूको आयात गर्ने काम अगाडि बढेको बताउनुभयो ।

त्यसैगरी माथिल्लो स्टेशनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्ने भएकोले अहिले कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको उहाँले बताउनुभएको छ । ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरूसँग छलफल भइरहेको जानकारीसमेत गराउनुभयो । केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६