बसन्त गिरी
रुपन्देही, ३० साउन।माओवादीले नेतृत्व गरेको लुम्बिनी प्रदेश सरकारको १ बर्षे कार्याकाल पुरा भएको छ । यस अघि नेतृत्व गरेको एमाले नेतृत्वको सरकार ढालेर पुर्नगठन गरिएको लुम्बिनी प्रदेश सरकारले प्रदेशकै ढाँचा परिवर्तन गर्ने मुख्य १७ वटा काम गरेको दाबी गरेको छ । सरकार गठनको १ बर्ष पुरा भएको उप्लक्ष्यमा लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले विगतको सरकार भन्दा गठबन्धनको यस सरकारले १ बर्षमै प्रदेश सरकार रहेको अनुभूति जनतामा गराएको दाबी गर्नुभयो । मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित सरकारको १ वर्षे कार्यकाल सफल भएको समेत दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता शर्माले आर्थिक वर्ष २०७८÷७९ मा आर्थिक बृद्धिदर ५.३६ प्रतिशत तथा प्रतिव्यक्ति आय ११०३ अमेरीकी डलर र राष्ट्रिय कुल ग्राहस्थमा १४.१ प्रतिशत योगदान रहेको तथ्यांक सार्वजनिक गर्नुभएको थियो । साथै उहाले बजेट कार्यान्वयको सन्दर्भमा पुँजिगत ७७.४७ प्रतिशत र चालु खर्च ७०.२२ प्रतिशत कुल खर्च ७४.२० प्रतिशत रहेको बताउनुभयो । उहाले लुम्बिनी प्रदेश सरकारले गरेका कार्यको ५२ बुँदि कार्य प्रगति प्रस्तुत गर्दै प्रदेश सरकारले प्रदेशबासीहरुको जीवनलाई समृद्ध बनाउने गरी कार्य थालनी गरेको दाबी गर्नुभयो । मन्त्री शर्माले माओवादी नेतृत्वको सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम घोषणा गरेर प्रदेशका १०९ वटै स्थानीय तहमा लागू भई कार्यान्वयनमा आएको प्रमुख उप्लव्धीको रुपमा लिनुभएको छ ।
यसै गरि प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट मार्फत् ४ वटा प्रदेश गौरवका आयोजनाको रुपमा राप्ती उपत्यकामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर, पाल्पादेखि पातिहाल्ना, रोल्पा सडक आयोजना घोषणा, प्रदेश राजधानी निर्माणका लागि गुरु योजना तयार भई कार्यान्वयनमा आएको, राजधानी व्यवस्थापनका लागि ल्याण्ड पुलिङको कार्य अगाडि बढाइएको, राप्ती प्राविधिक शिक्षालयको १८ बिगाह जग्गाभित्र ८ वटा प्रशासनिक भवन निर्माण कार्य अगाडि बढाइएको उप्लब्धि अन्र्तगत रहेको औल्याउनुभयो । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापनाका लागि ऐन नियम कानुनको तर्जुमा गरी उपकुलपतिको नियुक्ति गरिएको, प्रदेशको राजधानी राप्ती उपत्यकाको लालमटियामा प्रदेश सभा भवन निर्माण भएको, राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य सुरु भइसकेको भन्दै स्थायी राजधानीमा चालु आबबाटै काम अघि बढ्ने बताउनुभयो ।
स्वास्थ्य क्षेत्र तर्फ समेत प्रदेश सरकारले निकै उप्लब्धिमूलक कार्य गरेको मन्त्री शर्माले दाबी गर्नुभयो । उहाले प्रदेश भित्रका मुटु, मृगौला र क्यान्सर रोगको उपचारार्थ विपन्न नागरिक उपचारमा थप सहयोग रु २ लाखसम्म प्रतिव्यक्ति उपचार सहायता उपलब्ध गराउने कार्यक्रम लागु गरिएको छ जस अन्तर्गत कार्यविधि तर्जुमा गरी २७६ जनाले सहायता प्राप्त गरेको बताउनुभयो । यसै गरि पाँचौं प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न भई निर्णयहरूको कार्यान्वयन गरिएको । नवनिर्वाचित १०९ स्थानीय तहका प्रमुख,अध्यक्ष, उपप्रमुख, उपाध्यक्षसँग प्रदेश सरकार र स्थानीय तह बीचको समन्वय र अन्तरसम्बन्धका सम्बन्धमा विज्ञहरु सहित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । संघीय शासन व्यवस्थाको सबलीकरणका लागि राष्ट्रिय सभाका सम्माननीय अध्यक्षसमेतको सहभागितामा राष्ट्रिय सभाका माननीय सदस्यहरु, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारीहरुबीच बृहत् बहुपक्षीय अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको, १२ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको , प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत ८ वटा स्थानीय तहमा स्थानीय तहको लागत सहभागितामा स्थानीय आर्थिक विकास, सूचना प्रविधि सञ्जाल विस्तार र लैङ्गिक समावेशीकरणको क्षेत्रमा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम सञ्चालन गरिएको, प्रदेशवासीका गुनासाहरुलाई समयमै सम्बोधन गरी शासकीय व्यवस्थामा सुधार ल्याउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो मुख्यमन्त्री कार्यक्रम हटलाईन सेवा टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको समेत सरकारको १ बर्षे उप्लब्धिको रुपमा हेरिएको छ ।
मन्त्री शर्माले आमसंचार ऐन, प्रहरी ऐन तथा प्रदेश लोकसेवा आयोग स्थापना गरि काम अघि बढेको समेत प्रदेश सरकारको १ बर्षे कार्यकालको उप्लब्धिको रुपमा लिनुभएको छ । यसै गरि प्रदेश सरकारका मन्त्रालय वा अन्तर्गत निकायको कार्यमूलक संगठन संरचना र दरबन्दी विवरण तयार गरी प्रकाशन गरिएको, प्रदेश सरकारको सहयोगमा २३ स्थानीय तहको आवधिक योजना, ४४ स्थानीय तहको क्षमता विकास योजना र ३९ स्थानीय तहको राजस्व सुधार कार्य योजना सम्बन्धित स्थानीय तहको सहभागितामा तयार गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा प्रदेशका विभागिय मन्त्री, सचिव तथा प्रदेशभरीका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
३० श्रावण २०७९, सोमबार
प्रतिक्रिया