दाङ, २ भदौ । दाङमा ‘हनी ट्रयाप’मा पारेर पैसा असुल्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलिपकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया शर्मिला भन्ने प्रमिला नेपाली रहेका छन् ।उनीहरुले घोराही उपमहानगरपालिका– १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्तीमगरलाई प्रेम सम्बन्धको नाटक गरी उनीसँग रकम असुल्न खोजेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दिलिपकुमारको संलग्नतामा युवती प्रमिलालाई प्रयोग गरेर उक्त गिरोहले पैसा असुल गर्न खोजेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए ।प्रहरीका अनुसार प्रमिलाले साउन २६ गते राति ११ बजे सुनचाँदी व्यवसायी घर्तीमगरलाई आफ्नो कोठामा बोलाएकी थिइन् । व्यवसायी घर्ती उनको कोठामा पुगेलगत्तै दिलिप, बिमला, शान्ता र पवित्रा पनि पुगेर उनलाई हातपात गर्नुका साथै बलात्कारको आरोपमा प्रहरीमा उजुरी दिने भन्दै धम्क्याएका थिए । त्यसपछि उनीहरुले पैसा दिए प्रहरी कहाँ कुरा नपुग्ने बताए ।
‘सुरुमा घर्तीसँग एउटा घडेरी पास गर्न भनिएको रहेछ’ प्रहरी उपरीक्षक काफ्लेले भने, ‘घर्तीले आफूसँग जग्गा नभएको र पैसा दिने बताएपछि नगद र पटक–पटक चेक गरी १२ लाख रुपैयाँ लिएका रहेछन् ।’ काफ्लेका अनुसार घर्तीसँग उनीहरुले १ लाख नगद, २ लाखको २ वटा चेक र ७ लाख २० हजारको अर्को चेक लगेका थिए । पक्राउ परेकाहरुमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया