गुल्मी, ४ भदौ । गुल्मीको इस्मा गाउँपालिका–१ को हर्पुकोट नजिकैको बसेनी सामुदायिक वनमा परिचय खुल्न नसकेकी एक महिलाको शव फेला परेको छ ।इस्मा गाउँपालिका – १ का वडाध्यक्ष शेरबहादुर कुँवरले वनमा शव भेटिएको पुष्टि गरे ।शनिवार विहान वस्तु हेर्न पुगेका हर्पुकोट गाउँका हरि बिष्ट र धनबहादुर खत्रीले दुर्गन्ध आएपछि हेर्दै जाँदा मानिसको शव भएको फेला पारेका थिए । त्यसपछि उनीहरले वडाध्यक्ष कुँवरलाई खबर गरेका हुन् ।
शव तम्घास– सिमलटारी सडक खण्डबाट इस्मा तर्फ जाने छल्दीटार देखि ७ किलो मिटर दुरीको सडक भन्दा करिव डेढ सय मिटरमाथि पर्ने जंगलमा फेला परेको हो ।वडाध्यक्ष कुवरका अनुसार शवको अनुहार चिन्न सक्ने अवस्थामा छैन । लामो कपाल, गुन्यु चोली लगाएको देखेर महिला भएको पत्ता लगाईएको वडा अध्यक्ष कुँवरले बताए।उमेर अन्दाजी ६० बर्षको हुन सक्ने उनको अनुमान छ । उनले वडा नम्वर १ , २ , ३ सम्मका कतै महिला हराएका छन कि भनेर खबर गरेको तर पत्ता लाग्न नसकेका बताए छन् ।मिडिया मार्फत सबैलाई सुचित गरी दिन वडाध्यक्ष कुँवरले आग्रह गरेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले भने हस्तीचौरको प्रहरी पुगिसकेको बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान हुने यादवले बताएका छन् ।
प्रतिक्रिया