अर्घाखाँची, भदौ २९ ।नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच चालकका विषयमा कुरा नमिल्दा पाणिनि गाउँपालिकाको दुइटा एम्बुलेन्स विगत पाँच महिनादेखि बेवारिसेजस्तै बनेका छन्। ती एम्बुलेन्सको चालक नियुक्तिका लागि एमाले र कांग्रेसले आ–आफ्नै दाबी गरेसँगै बिरामी बोक्ने एम्बुलेन्स आफैँ थला परेका हुन्। पालिकाको अघिल्लो कार्यकालमा खरिद गरिएका ती एम्बुलेन्सहरू मैदानमा अलपत्र छन्। चालक पुरानै राख्ने वा नयाँ नियुक्त गर्ने विषयमा सहमति नहुँदा सञ्चालनमा समस्या भएको पालिका प्रवक्ता एवं ७ का वडाध्यक्ष गुनाखर अधिकारीले बताउनुभयो।
अघिल्ला कार्यकालमा नियुक्ति भएका चालकले अपेक्षाअनुसार काम नगरेकाले चार महिनासम्म एम्बुलेन्स अलपत्र परेको दाबी अधिकारीको छ। ती चालकलाई पुनः काममा निरन्तरता दिन नहुने केहीको सुझाव छ। तर, वडा नं. ३ का वडाध्यक्ष युवराज ज्ञवाली पुरानालाई निरन्तरता दिएर एम्बुलेन्स सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ। गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले पनि पुराना चालकले सही तरिकाले काम नगरेको भन्ने प्रतिवेदन प्राप्त भएकाले निरन्तरता दिन नसकिने बताउनुभयो।
२९ भाद्र २०७९, बुधबार








प्रतिक्रिया