कृषि

रोल्पावाट माओवादी नेता विस्थापित हुने खतरा :कहाँ जालान अव चर्चित रोल्पाली नेता ?




रोल्पा ३१ भदौ । रोल्पावाट माओवादी नेता विस्थापित हुने खतरा बढेकोछ । यो संगै कहाँ जालान अव चर्चित रोल्पाली नेता ? भन्ने प्रश्न उठेकोछ । रोल्पा जिल्ला नेकपा माओवादी केन्द्रको आधार क्षेत्र हो । यस जिल्लाबाट माओवादी केन्द्रका कयौं नेता राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् । तर निर्वाचन क्षेत्र कम भएका कारण रोल्पा आधार क्षेत्र भएका माओवादी केन्द्रका कयौं नेता अन्य जिल्लातिर केन्द्रित हुन बाध्य भएका छन् ।रोल्पामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा र प्रदेशसभा गरी प्रत्यक्षतर्फ जम्मा तीन नेतामात्र उम्मेदवार बन्न पाउने भएकाले अन्य नेताहरु रोल्पा छाडेर अरु जिल्लामा उम्मेदवार बन्न बाध्य भएका छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री वर्षमान पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सुशीला पुन, गीता गहतराज रोल्पाकै उत्पादन हुन् ।सुरुमा २ संघीय निर्वाचन क्षेत्र रहेको रोल्पा जिल्लामा हाल प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्रमात्र कायम छ । निर्वाचन क्षेत्र घट्ने तर नेताहरू धेरै रहेकाले चुनावको बेलामा समस्या पर्ने गरेको माओवादी केन्द्रका रोल्पा जिल्ला अध्यक्ष दीपेन्द्र पुनले बताए ।आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रबाट रोल्पामा वर्षमान पुन उम्मेदवार बन्ने लगभग निश्चित छ । त्यसैले महरा, घर्ती लगायतका नेताहरु प्रत्यक्षतर्फ उम्मेदवार बन्न अर्को जिल्लामा जानुपर्ने अवस्था आएको हो ।२०७० रोल्पाबाट निर्वाचित भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा २०७४ सालमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी अहिले पनि दाङबाटै उम्मेदवार बन्ने तयारीमा छन् ।

यस्तै २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्व सभामुख ओनसरी घर्ती पनि काठमाडौं क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चर्चा छ । घर्तीको नाम नेकपा माओवादी केन्द्रको काठमाडौं २ नम्बर क्षेत्रीय कमिटीले सिफारिस गरेको छ ।सुशीला पुनले पछिल्लो समय ललितपुरलाई राजनीतिक थलो बनाएकी छन् भने गीता गहतराजले गोरखालाई कार्यक्षेत्र बनाएकी छन् । उनी समानुपातिक सांसद समेत हुन् ।रोल्पाकै परिवर्तन गाउँपालिका–२ का नन्दबहादुर पुन विगतमा रोल्पामा क्षेत्र अभावकै कारण प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाएपछि पार्टीका विभिन्न भूमिका निर्वाह गर्दै उपराष्ट्रपति बन्ने अवसर पाए । उनले पटक पटक निर्वाचनमा जान खोजेका थिए तर क्षेत्र कम भएका कारण अवसर नपाएको माओवादीका कार्यकर्ताहरू बताउँछन् ।यस्तै हाल समानुपातिक सांसद जयपुरी घर्तीले पनि रोल्पामा उम्मेदवारीका लागि दाबी गरेकी छन् । २०६४ सालको निर्वाचनमा रोल्पा–१ बाट निर्वाचित भएकी उनी त्यसपछि दुई पटक समानुपातिक सांसद बनेकी हुन् ।
उनलाई रोल्पाबाट पार्टीले प्रत्यक्षमा सिफारिस गरेको छ ।रोल्पा क्षेत्र नम्बर २ बाट २०६४ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेका थिए । उनले रोल्पा छाडेपछि सन्तोष बुढा मगरले सो क्षेत्रबाट चुनाव जितेका थिए । बुढा अहिले माओवादी विप्लवतिर लागेका छन् ।माओवादी केन्द्रका रोल्पा जिल्ला अध्यक्ष दीपेन्द्र पुनले रातोपाटीसँग भने, ‘रोल्पामा माओवादीका धेरै नेताहरू लगभग एउटै तहका भएपछि सबैलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ, त्यसैले रोल्पामा मौका नपाएकाहरुले अन्यत्र जानु बाध्यता नै हो ।’

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६