काठमाडौं, ०३ असोज । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् ।
बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु मैदान र दर्शकको राम्रो साथ छ ।
प्रतियोगितामा फाइनल यात्रा तय गर्दा दुवै टोलीको दुई समानता छ । दुवैले यसअघि ५ पटक च्याम्पियन बनेको भारतलाई हराइसकेका छन् । खनी दुवैले अहिलेसम्म गोल खाएका छैनन् ।
भारतको दबदबालाई तोडिसकेका दुवै टोली अब फाइनल जितेर ट्रफी उचाल्ने योजनामा छ ।
नेपालले सेमिफाइनलमा भारतलाई १,० ले हराएर फाइनलमा इतिहास बनाएको हो । साफ इतिहासमै नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । नेपाल पाँचौ पटक फाइनल पुगेको हो । यस्तै बंगलादेशले पनि समूह चरणमा भारतलाई ३,० ले पराजित गरेको थियो ।
बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिप फाइनल पुग्ने क्रममा भुटानलाई सेमिफाइनलमा ८,० ले हरायो ।
बंगलादेशले फाइनलसम्म आइपुग्दा २० गोल गर्दा नेपालले ११ गोल गरेको छ । नेपालले समूह चरणमा भुटानलाई ४,० र श्रीलंकालाई ६,० ले पराजित गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ३,० ले, पाकिस्तानलाई ६,० र भारतलाई ३,० ले पराजित गरेको थियो ।
इतिहास बनाउने अवसर
पहिलो पटक च्याम्पियन बन्ने अवसरलाई दुवै टोलीले राम्रोसँग बुझेका छन् । नेपाली टिमका प्रशिक्षक कुमार थापाले घरमै आएको साफ महिला च्याम्पियनसिपको ट्रफीलाई घरमै राख्ने लक्ष्यसहित खेल्ने बताएका छन् ।
‘यस पटक नयाँ च्याम्पियन बन्ददैछ । हामी त्यो अवसर गुमाउन चाँहदैनौं, प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक थापाले भनेका थिए, ‘फ्यानलाई ९० मिनेटपछि दुस्खी बनाउन चाहन्नौं । साफको ट्रफी यही आइपुगेको छ र हामी यो ट्रफी बाहिर जान दिँदैनौं । यो ट्रफीलाई अहिले जितेर दुई वर्षसम्मलाई च्याम्पियन भएर यही राख्न चाहन्छौं ।’
बंगलादेशका प्रशिक्षक गोलोन रब्बानी छोटोनले फाइनल खेल्नका लागि आफ्नो टिम तयार रहेको बताए । ‘हाम्रो खेलाडीहरु फाइनल खेल्नका लागि तयार छन् । मानसिक र शारीरिक रुपमै हामी तयार छौं’ प्रि म्याच कन्फ्रेन्समा छोटोनले भनेका थिए, ‘हामीले फाइनलका लागि योजना बनाएका छौँ र त्यही अनुसार नै खेल्नेछौं,’ छोटोनले भने ।
उनले अहिलेसम्म राम्रो खेलेको बताउँदै फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘किनकि नेपाल बलियो टिम छ ।’
छोटोनले फाइनल खेल प्रतिस्पर्धात्मक, कठिन र रमाइलो हुने बताए ।
नेपालको महिला फुटबल टिमले पछिल्लो १२ वर्षमा ९ प्रतियोगिताको फाइनल खेल्दा उपाधि जित्न सकेको छैन । यस पटक नेपाल त्यो उपविजेताको ट्याग मेटाउन चाहन्छ ।
साफ च्याम्पियनसिपमा चार र सागमा तीन गरी ७ पटक फाइनलमा भारतसँग नै पराजित भएको नेपाल हिरो वुमन्स गोल्डकपमा म्यानमार र नादेज्दा कपमा उज्वेकिस्तानसँग फाइनलमा पराजित भएको थियो ।
नेपाल बंगलादेश हेड टु हेड
नेपाल र बंगलादेशबीच अहिलेसम्म ८ खेल भएको छ । जसमध्ये ३ खेल साफ च्याम्पियनमै थियो । यस्तै २ खेल दक्षिण एसियाली खेलकुद (साग) र दुई मैत्रीपूर्ण खेल थियो । १ खेल भने ओलम्पिक छनोटमा थियो । ८ वटै खेलमा नेपाल बंगलादेशसँग अपराजित छ ।
विगत हेर्दा नेपालको पक्षमा छ । तर पछिल्लो समय बंगलादेशले महिला फुटबलमा ग्रासटरुट उमेर समूहदेखि नै महत्व दिँदै आएको छ ।
यस पटक नेपाललाई घरेलु दर्शकको ठूलो साथ रहनेछ । त्यहीमा टेकर प्रशिक्षक कुमार थापाले भनेका छन् ‘फ्यानले हामीलाई उर्जा दिनेछन् । हामी ट्रफी दिनेछौँ ।’
नेपाल र बंगलादेशबीचबीच एक वर्षअघि दशरथ रंगशालमा पछिल्लो पटक दुई मैत्रीपूर्ण खेल भएको थियो । जसमा एक खेल नेपालले २,१ ले जित्दा एक खेल बराबरीमा सकिएको थियो ।
त्यसअघि नेपालले साफ च्याम्पियनसिपको ३ र सागको २ खेलमा बंगलादेशलाई पराजित गरेको छ ।
नेपाल भर्सेस बंगलादेश
कूल खेलः ८
नेपाल जितः ६
बराबरीः २
बंगलादेश जितः ०
नेपालले गरेको गोलः १४
बंगलादेशले गरेको गोलः २
प्रतिक्रिया