ब्रेकिंग न्युज

बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढ्दा व्यवसायी मारमा



काठमाडौँ, ११ असोज : बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तक्र्रियामा व्यवसायीले ब्याजदर बढ्दा उद्योगी व्यवसायी गम्भीर समस्यामा परेको बताएका हुन् ।नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले बैंकले ब्याजदरबारे सोच्नुपर्ने बेला आएको बताउनुभयो । “बैंकले नाफा खानका लागि ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन्”, उहाँले भन्नुभयो । उहाँले ३० वर्षमा कहिल्यै भोग्नु नपरेको वित्तीय समस्या अहिले आएर भोग्नुपरेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले व्याजदर सात प्रतिशतबाट बढाएर १४ प्रतिशत बनाउँदा व्यवसायी अफ्ठ्यारोमा परेको बताउनुभयो । “बैंकलाई ब्याजदर बढाउन राष्ट्र बैंकले स्वीकृत दियो, यसबाट व्यवसायी मारमा परे”, उहाँले भन्नुभयो । ब्याजदरमा बैंकले ठगी गरेको उहाँको आरोप छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका उपाध्यक्ष हेमराज ढकालले उत्पादन बढाएर आयत प्रतिस्थापन गर्न सकेमात्र देशको अर्थतन्त्र संकटमा केही हदसम्म कमी आउने बताउनुभयो । राष्ट्र बैंक र अर्थ मन्त्रालय आआफ्नो ढङ्गले सञ्चालन हुँदा समस्या परेको उहाँको भनाइ थियो । बैंकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले महङ्गी र व्यवसायीलाई असर नपर्ने गरी ब्याजदर बढाइएको बताउनुभयो । “बैंकिङ क्षेत्र जोगाउन ब्याजदर बढाएका हौँ, बैंक क्षेत्र डुब्यो भने मुलुकको अर्थ व्यवस्थामा गम्भीर सङ्कट पर्छ”, उहाँले भन्नुभयो ।नेपाल राष्ट्र बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराईले नेपालमात्र नभई विश्वकै अर्थतन्त्र समस्यामा परेको बताउनुभयो । “अर्थतन्त्रको समस्या क्षणिक हो, यो विस्तारै सुधार हुँदै जान्छ”, उहाँले भन्नुभयो । सम्झौताभन्दा बढी ब्याजदर लिने बैंकलाई राष्ट्र बैंकले ‘एक्सन’ लिने उहाँको भनाइ थियो ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६