काठमाडौं, १२ असोज । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ । आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनुहुने छ भने मिश्रसँगै आएका अरू नेताहरूको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।
त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ । एकता घोषणाका क्रममा बटुकहरूले स्वस्ति वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए । एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरूसँगै मिश्रले भने पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।
आफूलाई परम्परागत शक्ति भन्दै आएको राप्रपाले मिश्रलाई पृथ्वीनारायण शाहको तस्बिर ढोग्न लगाउँदै आफ्नो पार्टीमा भित्र्याएको छ । मिश्रले पृथ्वीनारायण शाहको तस्बिरमा ढोगेपछि एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।








प्रतिक्रिया