प्रदेश

त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट



नवलपरासी, २१ असोज ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए।

अहिले पनि डुबान क्षेत्रका मानिसहरु आफ्नै घरमा रहेका र उनीहरुलाई उद्धार गर्न नसकिएको अध्यक्ष गिरीले बताए । “पशुचौपाया र घरका सामानसहित बगुवनका स्थानीय डुबान क्षेत्रको उच्च भागमा बसेका छन्, उद्धारका लागि पुग्न सक्ने स्थिति छैन,” उनले भने । मध्यवर्ती क्षेत्र र निकुञ्जका कारणले बाटो विस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको जनाइएको छ । “मानिसहरु बाढीकै बीचमा छन्, जान सकिएको छैन, बाढी कति बेला घट्छ भन्ने छौँ”, अध्यक्ष गिरीले भने।

लगातार आएको बाढीले सोही क्षेत्रमा काट्ने बेलाको दुइ सय हेक्टर धान बालीसमेत पूर्ण रुपमा क्षति भएको जनाइएको छ । उनका अनुसार दुई सय हेक्टरको पाकेको धान पूर्ण रुपमा नष्ट भएको छ ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । गण्डक बाँधमा अहिलेसम्मकै उच्च चार लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । विहान ८ बजेपछि पानीको बहाव स्थिर देखिएको उनले बताए ।

नारायणीमा आएको बाढीका कारण बिहीबार गैँडाकोट नगरपालिका–२ का ८० घरलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनीलगायत गाउँमा करिब तीन दर्जनभन्दा बढी घरहरु डुबानमा परेका छन् । डुबानमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधिसहितको टोली खटिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित : २१ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६