कविलवस्तु, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै चुनावका लागि पठाएका झन्डै सात सय उम्मेदवारमध्येबाट प्रतिनिधि सभामा एक सय ६५ र प्रदेश सभामा तीन सय ३० उम्मेदवार केन्द्रले छनोट गरेको छ । जसमा कपिलवस्तु क्षेत्र न.१ बाट धुर्व रायमाझि र क्षेत्र न. ३ बाट प्रकाश रजौरियाको नाम टुङ्गो लगाएको छ । क्षेत्र न. २ को भने भोलि सनिवार मात्र टुङ्याउने राप्रपा केन्दीय सदस्य धुर्व रायमाझिले बताए । त्यस्तै प्रदेशतर्फ कपिलवस्तु क्षेत्र न. ३ (क) मा कृष्ण प्रसाद पौडेल र (ख) मा आजमात्रै प्रवेस गरेका जानकि प्रसाद यादव उमेद्वार चयन भएका छन् ।
विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ ।
समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्ने जनाइएको छ । त्यसरी तालमेल भएमा केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
राप्रपा र नेकपा (एमाले) को शीर्ष नेतृत्वबीच तालमेलका लागि छलफल भइरहेकाले के–कति सिट सङ्ख्यामा समझदारी कायम हुन्छ, त्यसका आधारमा सम्बन्धित जिल्ला कार्य समितिले केही उम्मेदवारका नाम परिवर्तन गर्नेछ । दुवै पार्टीका अध्यक्षबीच आज भेट गरी तालमेलमा सिटको टुङ्गो लगाउने कार्यतालिका छ ।
जिल्ला निर्वाचन कार्यालयमा यही असोज २३ गते जिल्ला कार्य समितिले केन्द्रसँग समन्वय गरी उम्मेदवारको नाम दर्ता गराउने छ ।








प्रतिक्रिया