कपिलवस्तु २४ असोज ।नागरिक उन्मुक्ति पार्टीबाट कपिलवस्तुमा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवार पत्र दिएका दुई जनाको मनोनयन दर्ता हुन सकेको छैन ।कपिलवस्तु क्षेत्र नं ३(क) बाट प्रदेश सभा सदस्यको लागि उम्मेदवार पत्र दिएका उमेश चौधरीले निर्वाचन खर्च नबुझाएकोले मनोनयन दर्ता नभएको हो ।
त्यस्तै ३ (ख ) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवारी दिएका गोविन्द चौधरीको उमेर नपुगेकाले मनोनयन दर्ता नभएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनु भयो । उमेश चौधरी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शिवराज ५ को वडा सदस्य पदमा उम्मेदवार बनेका थिए । गोविन्द चौधरीको २५ बर्ष नपुगेकाले मनोनयन दर्ता नभएको निर्वाचन कार्यालयले जनाएको छ ।
यता पाल्पामा स्थानीय तह निर्वाचनमा जरिवाना तोकिएका एक उम्मेदवारको मनोनयन दर्ता हुन सकेन । गत स्थानीय तह निर्वाचनमा तानसेन नगरपालिकामा नेपाली कांग्रेस (बीपी)का तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका तानसेन नगरपालिका १४, अर्गलीका श्रीधर न्यौपानेको उम्मेदवारी दर्ता हुन नसकेको हो ।
जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालका अनुसार स्थानीय तह निर्वाचनमा समयमा निर्वाचन खर्च विवरण नबुझाएकाले जरिवानामा परेकाले ‘सिस्टम’ ले नलिएको हो । सम्पूर्ण कागजपत्र पूरा गरेर धरौटी बुझाएका न्यौपानेको जरिवाना तोकिएकाले दर्ता हुन नसकेको उनले बताए । नेपाली कांग्रेस (बीपी) बाट न्यौपानेले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गर्न कागजपत्र बुझाएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख कमलराज विष्टले कागजपत्र पूरा गरे पनि न्यौपानेको उम्मेदवारी दर्ता गर्न नसकिएको बताए । अन्य काम सकेर निस्सा दिने क्रममा सिस्टमले नलिएपछि दर्ता गर्न नसकिएको उनले बताए । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम घोषणा गरेको ३० दिनभित्र उम्मेदवारले निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाउन आग्रह गरेको थियो ।
प्रतिक्रिया