खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण पदक



कास्की, २५ असोज : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजको खेलमा तीन स्वर्ण पदकको छिनोफानो भएको छ । फेन्सिङतर्फ ‘एकल सेभर’ विधातर्फ एपीएफका राजेन्द्र गजुरेल, महिलातर्फको ‘फोयर’ विधामा आर्मीका रमा सिंह र पुरुषतर्फको ‘इपि विधा’ मा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जित्नुभएको छ ।पोखरा रङ्गशालास्थित ब्याडमिन्टन हलमा भएको प्रतिस्पर्धाको साँझ सम्पन्न खेलमा एपीएफका गजुरेलले टिमका लागि पहिलो स्वर्ण दिलाउनुभयो । उहाँले यस अगाडि सातौँ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, आठौँमा टिम र एकलतर्फ रजत पदक जित्नुभएको थियो । सेभरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रतज पदक हासिल गर्नुभयो भने आर्मीकै रघुवीर चन्द्र र एपीएफका खेमराज खत्रीले कास्य पदक हासिल गर्नुभयो ।

महिला तर्फको फोयरमा स्वर्ण पदक विजेता सिंहले सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण र आठौँमा रजत पदक हासिल गर्नुभएको थियो । एपीएफका मनिषा राईले रजत पदक र एपीएफकै मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पार्नुभयो ।पुरुषतर्फको इपि विधामा स्वर्ण जित्ने सिंहले आठौँमा पनि स्वर्ण पदक जित्नुभएको थियो । इपिमा आर्मीका राम थापाले रजत पदक जित्नुभयो । त्यसैगरी गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका मीन कार्कीले कास्य पदक जित्न सफल हुनुभयो । गण्डकी प्रदेशका अधिकारी पहिलो पदक जित्न सफल हुनुभयो ।

हालसम्म फेन्सिङको अङ्क तालिकाअनुसार आर्मी शीर्ष स्थानमा छ । आर्मीले दुई स्वर्ण, तीन रजत र चार कास्यसहित नौ पदक प्राप्त गरेको छ । यसैगरी बागमती प्रदेश दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, दुई रजत र छ कास्यसहित नौ पदकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण पदकसहित चौथो स्थानमा छ ।यसैगरी आयोजक गण्डकी प्रदेश एक कास्यसहित पाँचौँ स्थानमा रहेको छ । प्रदेश नम्बर एकले अहिलेसम्म पदक जित्न सकेको छैन । प्रतियोगितामा आजका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पदक वितरण गर्नुभयो ।(रासस)

प्रकाशित : २५ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६