जीवनशैली

भाइरल ज्वरो र रुघाखोकीबाट बालबालिका प्रभावित



नेपालगञ्ज २९ असोज । केही दिनअघिको अविरल वर्षासँगै मौसम परिवर्तन हुँदा बाँके जिल्लाका विभिन्न बस्तीमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी बढ्दै गएका छन्। असोजको सुरुदेखि नै कहिले अत्यधिक गर्मी र कहिले वर्षा भएकाले ज्वरो बढेको बताइएको छ।
केही दिनयताको अविरल वर्षाका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या थप बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
यही बेला डेङ्गुको प्रकोप बढेपछि भाइरल ज्वरो आएकाहरू डेङ्गुप्रति झन् त्रसित बनेका छन्। ज्वरो आउनसाथ डेङ्गु परीक्षण गराउनेहरू बढेको पाइएको छ। भाइरलबाट बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको विभिन्न अस्पतालले जनाएका छन्।
नेपालगञ्ज र कोहलपुरका निजी तथा सरकारी अस्पतालमा केही दिनयता भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी आउने क्रम अत्यधिक बढेको र तीमध्ये बढी बालबालिका र वृद्धवृद्धा रहेका जानकारी चिकित्सकहरूले दिएका हुन्।
भेरी अस्पतालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिने बिरामी ठूलो सङ्ख्यामा छन्।
तीमध्ये अधिकांश बालबालिका र वृद्धवृद्धा छन्। भेरी अस्पतालमा मात्र दैनिक दुई सयदेखि तीन सय जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका र तीमध्ये केहीमा डेङ्गु देखिएको अस्पतालका सूचना अधिकारी डा। सङ्केत रिसालले बताउनुभयो।
उहाँका अनुसार बालबालिका र वृद्धवृद्धामा बढी भाइरल ज्वरोको प्रकोप बढेको छ। अस्पताल र निजी स्वास्थ्य क्लिनिकमा ज्वरो र टाइफाइडका बिरामी आउने क्रम त्यत्तिकै बढेको छ।
मौसम परिवर्तन, दूषित पानी, सरसफाइ र खानपानमा उचित ध्यान नपु(याउँदा भाइरल ज्वरोका बिरामी बढेको दाबी चिकित्सकहरूको छ। भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने भए पनि डेङ्गुप्रति सचेत रहनुपर्ने सुझाव चिकित्सकहरूको छ।
नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डा। रोमन किदवाईले भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका दैनिक ५० देखि एक सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो।
वरिष्ठ बालरोग विशेषज्ञ डा। सकिल अहमदले नेपालगञ्ज क्षेत्रमा सयौँ बालबालिकामा भाइरल ज्वरो फैलिएको जानकारी दिनुभयो। आफ्नो क्लिनिकमा मात्र ३० देखि ५० जनासम्म बालबालिका उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६