बाँके २९ असोज । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनीय बनेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ गुरदयालपुरको श्री लक्ष्मी प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो छ । भौतिक संरचनाहरु जीर्ण अवस्थामा छन् । वि।सं। २०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसकेपछि विद्यालयको भौतिक अवस्था हेर्न लायकको छैन ।
बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको यो विद्यालयको शुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी सङ्ख्या उल्लेख्य भए पनि पछिल्लो समयमा निजी विद्यालयका कारण विद्यार्थीहरु वर्षेनी घटिरहेका छन् । विद्यार्थीहरु भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयहरुको गुनासो छ । अहिले विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरु नै बाध्य भएर निजी विद्यालय रोज्ने गरेको सञ्चालकहरु नै बताउँछन् ।
गुणस्तरीय शिक्षा र सेवा सुविधाको खोज्दै अभिभावकहरु निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको बताउनुहुन्छ, बैजनाथ गाउँपालिका– ८ का कार्यवाहक अध्यक्ष शुक्रबहादुर रावत । उहाँका अनुसार पाँच वर्षमा विद्यालयमा एक लाख मात्र बजेट विनियोजित भएको छ । विद्यालयको फर्निचरका लागि वडा कार्यालयले पाँच वर्षमा मात्र एक लाख रुपियाँ दिएको बताउनुभयो ।
विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रधानाध्यापक सुरेशकुमार थारुले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा पाँच कक्षासम्म पढाइ भए पनि भौतिक संरचना जीर्ण हुँदा र सामुदायिक विद्यालयमा सरकारले चासो नदिँदा जम्मा ४६ विद्यार्थी छन् । स्थानीय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति गर्न नसकेको उहाँको भनाइ छ ।
२९ आश्विन २०७९, शनिबार








प्रतिक्रिया