प्रदेश

निर्वाचन आचारसंहिता पालना गर्ने ७ बुँदे प्रतिबद्धता



भुपाल थापा
कपिलबस्तु, ०२ कार्तिक ।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि कपिलबस्तुका राजनीतिक दलले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मधेश मानव अधिकार गृह माहुरी होम कपिलबस्तुले सदरमुकाम तौलिहवामा आयोजना गरेको राजनैतिक दलका प्रतिनिधि र उम्मेद्वारलाई निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण गोष्ठीमा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने ७ बुँदे प्रतिबद्धता जनाएका हुन् ।

कपिलबस्तु जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत भीमार्जुन ज्ञवालीले निर्वाचनलाई निष्पक्ष बनाउन सबै पक्षबाट आचारसंहिताको पालनामा सहयोगको अपेक्षा गरिएको बताए । निर्वाचनलाई व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक हुने उनको भनाइ थियो । अनुगमन अधिकृत ज्ञवालीले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि प्रतिबद्ध रहेको समेत बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा योजना बनाइएको बताउँदै सुरक्षा अवस्थालाई मजबुद बनाइने बताए । निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कार्ययोजना बनाइएको पौडेलले बताए ।

जिल्ला निर्वाचन अधिकारी राजीव पन्थीले निर्वाचनको तयारीका लागि कार्यालयले आवश्यक काम दु्रतरुपले गरिरहेको जानकारी दिए । जनशक्ति आँकलन तथा परिचालन गर्ने, कर्मचारीको विवरण सङ्कलन गर्ने काम भइरहेको भन्दै उनले निर्वाचन सामग्रीको व्यवस्थापनको काम सञ्चालन गरिएको बताए ।

आचारसंहिता पालना अनुगमनका लागि जिल्लास्तरमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, प्रहरी उपरीक्षक छन् भने सदस्य सचिवमा निर्वाचन अधिकारी रहने व्यवस्था छ ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य उम्मेद्वार धर्मबहादुर लाल श्रीवास्तव, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेद्वार जीतबहादुर चौधरी, नेपाली कांग्रेसका प्रतिनिधी रामआषिश पाण्डेय, नेकपा एसको केन्द्रिय सदस्य मीना परियार, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, लोसपा कार्यवहाक अध्यक्ष ओमकारनाथ शुक्ला, राप्रपा केन्द्रिय सदस्य बिजयलक्ष्मी सिंह, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, जनमत पार्टीका वृजेन्द्र कुमार चौधरी, बहुजन शक्ति पार्टीका केन्द्रिय सदस्य इन्द्र प्रसाद हरिजनले निर्वाचन आचारसंहिता पालनाका लागि प्रतिबद्ध रहेको बताए ।

मधेश मानव अधिकार गृह माहुरी होमका अध्यक्ष प्रेमचन्द्र जयसवालको अध्यक्षता रहेको कार्यक्रममा गैसस महासंघ कपिलबस्तुका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, पत्रकार महासंघ कपिलबस्तुका सभापति किरणमान बज्राचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन मानव अधिकारकर्मी दिनेशचन्द्र त्रिपाठीले गरेका थिए ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६