कपिलवस्तु, १० कार्तिक ।
निर्वाचन आचार संहिता उलङ्घन गर्दै माओवादी केन्द्रका व्यापारीले प्रहरीलाई कोसेली बाडेका छन् । निर्वाचन आफ्नो पक्षमा पार्न सहयोग गर्न भन्दै कपिलवस्तु क्षेत्र नम्बर ३ का माओवादी व्यापारी तथा नेता विजय जैसवालले वडा प्रहरी कार्यालय चन्द्रौटा परिसरमै तिहारको शुभकामना भन्दै कोसेली बाडेका छन् । सोहि क्षेत्रबाट एसहान मुसलमान गठबन्धनको तर्फबाट माओवादी प्रदेश सभा उम्मेद्धवार छन् भने निर्वाचन परिचालनमा जैसवालले नेतृत्व लिएका छन् । उनले वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिल जंग शाहीलाई परिचालन गरेर प्रहरी कार्यालय परिसर भित्रै मातहतका प्रहरीहरुलाई लाइन लगाएर कोसेली बाडेका थिए । उक्त कार्यक्रमको तस्वीर विभिन्न सामाजिक संजालमा आएपछि प्रहरी प्रति आलोचना बढेको छ।

निर्वाचन आचार संहिता मात्र होइन प्रहरी आचार संहिताले पनि मातहत निकाय बाहेक अन्य क्षेत्रबाट विभागिय पूर्व स्वीकृति नलिई कोशेली, चिनो वा कुनै आर्थिक सहयोग लिन पाइदैन । तर यसको धज्जी उडाउदै विवादित व्यापारी जैसवालको अगाडी प्रहरी निरिक्षक शाहीले प्रहरी बर्दीमै हात फैलाउन लगाए । १ किलो मिठाईको लागि प्रहरीलाई बदनाम गरियो, अझ फोटो खिचेर फेसबुकमा हालिएको छ, यो सहयोग भन्दा पनि शक्ति प्रर्दशन र प्रचारको नियतले गरिएको जस्तो लाग्यो” स्थानीय मुकेश अधिकारीले भने । २ वटा श्रीमती विवाह गरेर पहिलो पट्टीका बालबच्चा लाई नागरिकताबाट बञ्चित गरेको, पत्रकार र्दुव्यवाहार सहित दर्जनौ विवादमा आउने व्यापारी जैसवाल अहिले चन्द्रौटा उद्योग बाणिज्य संघमा माओवादी कोटाबाट उपाध्यक्ष छन् ।

यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यसबारे आफुलाई सम्बन्धित कार्यालयबाट कुनै जानकारी नआएको जनाएको छ । प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले यसबारे जानकारी लिने र प्रहरी आचरण बाहिर जानेलाई विभागिय कारवाही गरिने बताउनुभयो । “हाम्रो आफ्नै आचारसंहिता र अनुशासन छ, यसबारे आवश्यक छानबिन गर्छौ” उहाले भन्नुभयो ।








प्रतिक्रिया