प्रदेश

मयुर नाच संरक्षणमा तुलसीपुरमा तीन पुस्ता जुट्दै



तुलसीपुर १२ कात्तिक । मयुर नाचमा यहाँको तीन पुस्ता जुटेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८मा मयुर नाच संरक्षणका लागि १६ सदस्यीय टोली समेत तयार पारेर संरक्षणमा जुटेको हो ।
टोलीले तिहारका साथै विभिन्न सांस्कृतिक कार्यक्रममा समेत नृत्य प्रस्तुत गर्दै आएको छ । टोलीको नेतृत्व ७० वर्षीय गोवर्धन रोकाले गर्नुभएको छ । यो नाच संरक्षणका लागि तीन पुस्ता जोडिएको छ ।
नाचको टोलीमा १७ वर्षकी बबिता खड्कादेखि ६८ वर्ष उमेरका लोकसिंह केसी हुनुहुन्छ । अघिल्लो पुस्ताले बचाउँदै आएको मयुर नृत्यलाई पछिल्लो पुस्ताले समेत अभियानमा आफूलाई सामेल गरेको छ । नृत्य गर्दै आउनुभएकी बबिता खड्काले मयुर नाच संरक्षण गर्नु पछिल्लो पुस्ताको कर्तव्य रहेको बताउनुभयो । त्यस्तै ४० वर्षीय भीमबहादुर केसीले अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीच संयोजन गर्दै नाच संरक्षणमा लागेका बताउनुभयो ।
नाचको संयोजन गर्दै आउनुभएका कुलबहादुर नेपालीले मयुर नाच नेपालको सल्यान, रुकुम, जाजरकोटलगायतका जिल्लामा प्रख्यात रहेको बताउनुभयो । उहाँले मयुर नाच्दा घर वरपर भूतप्रेतको भय त्रास हट्ने विश्वास रहेको बताउनुभयो । मयुर नाचका लागि आवश्यक पर्ने सामग्रीको अभाव रहेकाले यसको संरक्षणका लागि सबै जुट्नुपर्ने बताउनुभयो ।
परम्परागत नाचको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाले आवश्यक सामग्रीको बजेट व्यवस्था गर्ने नगरप्रमुख टीकारामा खड्काले बताउनुभयो । उहाँले परम्परागत नृत्यको आफ्नो छुट्टै विशेषता भएकाले पछिल्लो पुस्तासम्म जीवित तुल्याउनका लागि पालिकाकोतर्फबाट आवश्यक सामग्री र प्रचार प्रसारमा सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित : १२ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६