ब्रेकिंग न्युज

बस दुर्घटनामा परि रोल्पामा ८ जना घाइते



रोल्पा, १२ कार्तिक ।बस दुर्घटनामा परि रोल्पामा ८ जना घाइते भएका छन् । जिल्लाकाे रून्टीगढीमा भएकाे बस दुर्घटनामा परि ८ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ ।रुन्टीगढीबाट दाङको तुलसीपुरतिर जाँदै गरेको बस शनिबार पानीगैरामा सडकमै पल्टिँदा ८ जना घाइते भएका छन् । बिहान ९:५० बजे भएको दुर्घटनामा प्रहरी र गाउँलेले तत्काल घटनास्थल पुगी उद्धार गरेकाले मानवीय क्षति हुन सकेन । प्रहरीका अनुसार बस रुन्टीगढी गाउँपालिका–८ को भित्रि सडक खण्डमा पर्ने मेलटाकुरादेखि दाङ तुलसीपुर जाँदै थियो । रा १ ख ७३८ नम्बरको बस पल्टेपनि बसमा सवार रहेका १५ जनाको उद्धार गरिएको हो ।

दुर्घटना भएको आधा घण्टापछि खबर पाएपछि इलाका प्रहरी कार्यालय होलेरीबाट इन्चार्ज प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माको नेतृत्वमा ७ जनाको प्रहरी टोलीसहित गाउँलेहरुले पल्टिएको बसभित्र रहेका यात्रुको उद्धार गरेका थिए । बसमा सवार तिहार मानेर घर फर्कने मैतालुहरु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर अवस्थाका घाइतेलाई प्रहरीको सहयोगमा थप उपचारका लागि दाङको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ । तर सडक अवरुद्ध हुने गरी पल्टेको बस उठाउनेबारे योजना बनाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए । बसका चालक दाङको तुलसीपुर उपमहानगरपालिका–१९ का २८ वर्षीय केशव खड्का भने फरार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते छन् भने अन्य ६ जना सामान्य घाइते छन् । सख्त घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१८ का ४५ वर्षीय कलिराम परियार र उनकी छोरी ४ वर्षीया अञ्जना परियार रहेका छन् । यस्तै मध्यम खालका घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१९ का ४५ वर्षीय गाडी मालिक चूर्ण थापा, रोल्पा रुन्टिगढी–८ का २९ वर्षीया गौसरा पुन, उक्त गाउँकै १५ वर्षीया भावना परियार, ३६ वर्षीया मनकुमारी दमाई, ७ वर्षीया सन्जु परियार र ६ वर्षीया गीता पुन रहेका छन् । चाडपर्वका बेला यातायात चलाउँदा ध्यान दिएर र सुरक्षित भएर चलाउन चालकलाई निर्देशन गरिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

प्रकाशित : १२ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६