रुपन्देही १२ कार्तिक । श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवलबाट वैदेशिक रोजगारी सम्बन्धित थप सेवा प्रदान हुने भएको छ । यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै प्रदान हुँदै आएकोमा अबदेखि नयाँ श्रम स्वीकृति प्रदान गर्नुका साथै व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान चाहनेहरूको निवेदन लिने र श्रम स्वीकृति प्रदान गर्ने लगायतका काम गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यसअघि धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले पुनः श्रम स्वीकृति प्रदान गर्ने काम गर्दै आएका थिए । वैदेशिक रोजगारीसँग सम्बन्धित अन्य सबै काम वैदेशिक रोजगार कार्यालय ताहचल र वैदेशिक रोजगार विभागबाट हुँदै आएको थियो । विभागका अनुसार अब भने वैदेशिक रोजगारीमा जाने व्यक्ति र यससँग सम्बन्धित सरोकारवालाको सहजताका लागि श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवललाई वैदेशिक रोजगारीसँग सम्बन्धी थप काम गर्ने अधिकारसमेत प्रत्यायोजन गरिएको छ ।
प्रतिक्रिया