बाणगंगा, १६ कार्तिक ।
नेकपा एकीकृत समाजवादी बाणगंगा नगर कमिटीले आसन्न मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी अभियानमा जुट्न आम नेता तथा कार्यकर्तालाई अपील गरेको छ ।
बुधबार चारनम्बरमा भएको बाणगंगा नगर कमिटीको चौथो विस्तारित बैठकले प्रतिनिधिसभा १ मा चक्रपाणी खनाल बलदेव चुनाव चिह्न हसिया हथौंडा र प्रदेश सभा ‘क’ मा डोलराम घिमिरे चुनाव चिह्न रुखमा मतदान गर्न अभियान चलाउने निर्णय गरेको हो ।
पार्टी केन्द्रको निर्देशन र बाम-लोकतान्त्रिक गठबन्धनको सहमति अनुसार दुबै उम्मेदवारलाई जिताउने गरी चुनाव प्रचार प्रसार अभियान थाल्ने निर्णय भएको एकीकृत समाजवादीका बाणगंगा नगर कमिटी अध्यक्ष दिपक पन्थीले जानकारी दिए ।समानुपातिक तर्फबाट कलम चुनाव चिह्नमा मतदान गर्ने गरी एक हप्ते चुनावी प्रचार अभियान चलाउने निर्णय भएको अध्यक्ष पन्थीले बताए ।
बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले प्रतिगमनको खतरा अझै भएकाले यो निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्नुपर्नेमा जोड दिए ।
जिल्लामा दुई प्रदेश सभामा आफ्ना उम्मेदवार जिताउने गरी लाग्ने र अन्यत्र स्थानमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने गरि पार्टी जिल्लाले निर्णय गरेको उनले बताए ।
कपिलवस्तु १ को प्रदेश सभा ‘ख’ र कपिलवस्तु ३ को प्रदेश सभा ‘क’ मा कलम चुनाव चिह्नका उम्मेदवारलाई भोट दिने र अरु क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी लाग्ने उनले प्रष्ट पारे । दुई प्रदेशसभामा बाध्यताबस मित्रवत प्रतिस्पर्धा गर्ने गरी जानु परेको उनले सुनाए ।
अहिलेको राष्ट्रिय आवश्यकता गठबन्धन जिताउने भएको भन्दै अविचलित रुपमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई एकीकृत समाजवादीका जिल्ला सचिव कमल भट्टराईले आग्रह गरे ।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रदेश सभा ‘क’ का सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरेले चुनाव जिते पछि सबैको साझा भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी बाणगंगा नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार घिमिरेले यस्तो बताएका हुन् ।
‘राष्ट्रिय आवश्यकताले गठबन्धन भएको हो । नेपाली कांग्रेसले आफूलाई नै उम्मेदवार बन्ने मौका दिएको छ । चुनाव जिते पछि कुनै दलको मात्र नभई सबैको साझा भएर काम गर्ने प्रतिवद्धता जनाउँदै उनले बैठकमा भने, ‘यो पटक भोट दिएर जिताउनुहोस्’ ।
आफ्नो सिंगो जीवन राजनीतिमा समर्पित भएको भन्दै कसै प्रति राजनीति भेदभाव गर्ने आफ्नो व्यवहार नभएको उनले बताए । उम्मेदवार नहुदै पनि आफू सबैको साझा भएर राजनीति गरेको उनले जनाए । कपिलवस्तुमा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै आ(आफ्ना पुराना तिक्तता भुलेर साझा उम्मेदवारलाई भोट दिन उनले आग्रह गरे ।
राजनीति प्रति समाजमा यदाकदा वितृष्णा जागेको आफूले देखेको भन्दै राजनीति नै सच्चा समाजसेवा रहेको उनले बताए ।
राजनीतिमा सुधार आवश्यक रहेको भन्दै आफूले चुनाव जितेर संसदमा प्रवेश गरे ०४६ यताका प्रत्येक उच्च पदस्थ कर्मचारी, मन्त्री, सांसदहरुको सम्पत्ति छानविनको आवाज उठाउने उनले बताए ।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु बेल्वासेले गठबन्धन विरुद्ध लाग्ने अधिकार कसैलाई नभएको बताए । देशमा प्रतिगमनको खतरा मडारिरहेको भन्दै यो बेला संयम भएर गठबन्धन जिताउन लाग्नुपर्नेमा उनले जोड दिए । गठबन्धन एकतावद्ध भएकाले अर्को कुनै शक्तिले हराउन नसक्ने उनले बताए ।
उक्त अवसरमा नेकपा एमाले, जनता समाजवादी पार्टी जसपा परित्याग गरी विभिन्न नेता नेकपा ९एकीकृत समाजवादी मा प्रवेश गरेका थिए । कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल ९जसपा० का नेता जेदप्रसाद खनाल, चोपलाल खनाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
यस्तै बाणगंगा ८ का नविन पाण्डेसहित आधा दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश गरेको पार्टीका नगर कमिटी अध्यक्ष पन्थीले जानकारी दिए । यस्तै वडा नं. ४ मा सागर आचार्यको नेतृत्वमा केही कार्यकर्ता समाजवादी प्रवेश गरेको अध्यक्ष पन्थीले बताए ।
पार्टी प्रवेश गराउदै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खत्रीले कम्युनिष्ट पार्टीको पुनर्गठनमा जोडिएका सबै नेताहरुलाई उचित जिम्मेवारी दिइने बताए । बैठकमा नगर कमिटीका सदस्यहरुले आ आफ्नो क्षेत्रको रिर्पोटिङ गर्नुभएको थियो ।








प्रतिक्रिया