परासी १७ कार्तिक । पश्चिम नवलपरासी क्षेत्र नं। १ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका विनोद चौधरीले घरदैलोका नाममा व्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । उनले १०र१५ वटा गाडीका लावालस्कर सहित घरदैलोको बाहनामा गाउँ जाने र गाउँका २र३ सय जना मानिसहरु जम्मा गरेर कोण सभा गर्दै हिड्ने गरेका छन् ।
उनको साथमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरु बर्दघाट नगरपालिकाका नगरप्रमुख उपप्रमुख, प्रतापपुर गाउँपालिकाका अध्यक्ष, स्थानीय ५ गठबन्धनका नेताहरु, चौधरी उद्योगका ५० बढी कर्मचारीहरु गरी १ सय जनाको हाराहारीमा सँगसँगै घरदैलोको बाहनामा एक साथ चुनावी प्रचारमा हिड्ने गरेका छन् ।
कतिपय जनप्रतिनिधिहरुले विदाको समयमा पनि सरकारी गाडीको दुरुपयोग गरी उद्योगपति विनोद चौधरीसँगै चुनावी प्रचारमा हिडेको समेत पाइएको छ । विनोद चौधरीले उमेदवार दर्ता गरे लगतै केही दिन मोटरसाइकलमा घरदैलो गर्दै हिडेको भए पनि अहिले भने दैनिक २ देखि ३ स्थानमा कोण सभा गर्दै हिड्ने गरेका छन् । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भने आफूहरुलाई यस विषयमा कुनै जानकारी नभएको बताए ।
उनले भने – अहिलेसम्म कुनै उजुरी परेको वा आचारसंहिता उल्लंघन गरेको जानकारी आएको छैन । हामीले कात्तिक १७ पछि भने शुक्ष्म रुपमा अनुगमन गर्दैछौं । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं। १ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दुर्गा भट्टराईका अनुसार कात्तिक १७ अघि उम्मेदवारहरुले घरदैलो गर्न पाउने, बढीमा २५ जना लिएर घरदैलोमा हिड्न पाउने, सभा, कोणसभा गर्न नपाउने गरी निर्वाचन आचारसंहिता रहेको छ ।
तथापि निर्वाचन अधिकृतको कार्यालयमा कुनै पनि उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गरेर प्रचारप्रसार गरेका घटनाको मौखिक तथा लिखित कुनै उजुरी नपरेको भट्टराईले बताए । उनले भने–अनुगमन गर्नलाई साधनस्रोतको अभावका कारण पनि भने जस्तो अनुगमन गर्न सकिएको छैन ।
१७ कार्तिक २०७९, बिहिबार
प्रतिक्रिया