बुटवल २२ कार्तिक — एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने भएको छ।
बुटवलमा सोमबार पत्रकार सम्मेलन गर्दै अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार रूपन्देहीको क्षेत्र नं २ मा एमालेलाई सघाउने गरी निर्णय भएको बताइएको छ ।
अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले एमाले उम्मेदवार विष्णु पौडेल सधैँ वाम एकताको पक्षमा लाग्ने र वामपन्थी शक्तिहरुको हितमा काम गर्ने भएकाले समर्थन गरेको जानकारी दिए।
ुहाम्रो राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटीको बैठकबाट रूपन्देही २ मा एमालेलाई सघाउने निर्णय भएको छ,ु अर्यालले बताए ।
अभियानका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका अर्यालले रूपन्देहीको विकासमा विष्णु पौडेलले खेलेको भूमिकाको सम्मानमा पनि यस्तो निर्णय लिएको बताए ।
आफ्नो पार्टी चुनावमा सहभागी नभएकाले अन्य क्षेत्रको विषयमा भने पछि निर्णय हुने उनले बताए । उक्त अभियानले यस क्षेत्रमा आफ्नो करिब २ हजार ५ सय मत रहेको दाबी गर्दै आएको छ । कार्यक्रममा एमाले उपध्यक्ष तथा उम्मेदवार विष्णु प्रसाद पौडेलले आफूले सबैको हित हुनेगरी साझा विकासमा जोड दिने बताएका थिए ।
२२ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया