हरि घिमिरे
कपिलवस्तु,२२ कार्तिक ।
आगामी मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले गठबन्धनको सरकार ग्रामिण विकासमा केन्द्रीत हुने बताएका छन् । अब राष्ट्रीय गौरवका योजना सहितको विकास जनताले खोजेको उनले बताए ।
बाणगंगा नगरपालिका वडा न. १ को घरदौलो कार्यक्रम पछिको कोणसभालाई सम्बोधन गर्दै बलदेवले यसअघिको सरकारले आंसिक रुपमामात्रै गरेको र आगामी गठन हुने गठबन्धनको ५ बर्षे सरकारले गाउँगाउँमा विकास गर्ने बताएका हुन् । उनले शिक्षा, स्वास्थ्य, सडक र कृषिका अधुरा योजना पुरागर्ने र आधुनिक प्रणालिको विकासमा जोड दिने बताए ।
आगामी चुनावमा देशभर गठबन्धनको जित भएर प्रतिगामी र परिवर्तनविरोधी शक्ति पाखा लाग्ने भन्दै उनले त्यसपछि मात्र गाउँ ठाउँको विकास हुने दावी गरे । यसअघिको चुनावमा आफूले यस क्षेत्रबाट जित हासिल गरे पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण यहाँको विकास गर्न नसकिएको बताए ।
जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अहिले गठबन्धनले जित्नै पर्ने बलदेवको दावी छ । उनले भने, ‘मैले कपिलवस्तुको विकास र समृद्धिका लागी धेरै योजनासंगै बजेटको पनि व्यवस्थापन गरे तर त्यसको प्रचारप्रसार गर्न जानिन्, जसको फलस्वरुप मैले यहाँका कतिपय नागरिकबाट आरोपहरु खेप्नु परेको छ ।’ उनले जनताको अपेक्षा अनुसार काम गर्न आफु प्रतिवद्ध रहेको बताए ।
विकासको सम्भावनाले भरिएको कपिलवस्तुलाई अब तीब्र गति विकासको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । देश र जनताको आवश्यकता गठबन्धन भएको दाबी गर्दै उनले अबको सरकार पनि गठबन्धनकै बन्ने जिकिर गरे । ‘अहिले देश र जनताको आवश्यकता गठबन्धन हो ।,’ उनले भने, ‘गठबन्धनले नै चुनाव जित्छ र गठबन्धनको सरकार बन्छ ।’








प्रतिक्रिया