प्रदेश

तिनाउ–दानवमा पुलैपुल



लुम्बिनी २६ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणको पहलमा रुपन्देहीको तिनाउ र दानव नदीमा १० वटा पुल निर्माण भएपछि त्यस क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । तिनाउ र दानवमा १० वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ भने सातवटा निर्माणाधीन रहेका छन् ।
रुपन्देहीको अमुवा र तिलोत्तमा जोड्न पनि तिनाउमा पुल थिएन । सर्वसाधारण बर्खामा जोखिम मोलेर नदी तर्दै आएका थिए । तिलोत्तमा–१४ स्थित पुलनजिकै पसल व्यवसाय सञ्चालन गरिरहेकी लक्ष्मीदेवी रावलले ती दिन सम्झिँदा कहाली लाग्ने गरेको बताउनुभयो ।
सियारी गाउँपालिकास्थित अमुवामा स्थायी बसोबास गरिरहनुभएकी रावलका अनुसार पुल नहुँदा सर्वसाधरणले खोलामा ज्यान जोखिममा हालेर वारपार गर्नुपथ्र्यो । “वर्षाका बेला घाँटीघाँटीसम्मको पानीमा स्थानीय व्यक्तिले सबैलाई तारिदिन्थे,” उहाँले भन्नुभयो, “जिउँदै घर पुगिन्छ कि नाइ पत्तो हुन्थेन ।”
“सबै स्थानीय मिलेर पुल बनाउन दबाब दियौँ,” उहाँले भन्नुभयो, “त्यतिबेला तिलोत्तमा पुगेर बालकृष्ण खाणलाई भेटेका थियौँ ।” अहिले पुल बनेपछि यहाँका बासिन्दालाई स्वर्ग जस्तै भएको छ ।
जिल्लामा निर्वाचनको माहोल तातिरहेका बेला उम्मेदवार जनमत आफ्ना पक्षमा पार्न अन्तिम कसरतमा छन् । उम्मेदवार मात्र होइन, नेता, कार्यकर्ता र सर्वसाधारण चुनावी माहोलमा एकीकृत बनेका छन् । यस्तो बेला रुपन्देहीका केही उम्मेदवार सरकारी लगानीमा निर्माण भएका आयोजना आफ्नो जायजेथा बिक्री गरेर निर्माण गरेको जस्तै गरी प्रचारमा छन् ।
त्यस्तै समर्थकहरूले पनि ‘जनताको आँखामा धुलो’ पार्नेगरी सामाजिक सञ्जाल रङ्गिन तस्बिर राखेर यो पुल फलानो नेताले बनाइदिएको भन्दै हल्ला फिँजाइरहेका छन् । गृहमन्त्री खाणले यस्तो प्रचारलाई ‘झुट’को संज्ञा दिँदै आउनुभएको छ ।
रुपन्देहीमा निर्माण भएका र आगामी दिनमा तयार हुने सबै आयोजनामा जनताको रगत पसिना बगेको भनाइ उहाँको छ । कुनै पनि आयोजनाको निर्माण जनताको पसिनाबाट हुने भएकाले नेताले विकास गरेको वा लगानी गरेको भनेर नागरिकलाई भ्रममा नपार्न उहाँले आग्रह गर्नुभयो ।
“कसको पाला, कसको पहलमा विकास आयोजना आयो भन्ने मात्र हो,” उहाँले भन्नुभयो, “मैले २०४८ सालमा पहिलो पटक चुनाव जितेँ । त्यतिबेला तिनाउ नदीअन्तर्गत पाखापानीमा एउटा र दक्षिण भैरवा–लुम्बिनी खण्डअन्तर्गत बेथरीमा एउटा गरी दुईवटा पुल मात्र थिए । जिल्लाका पश्चिमी क्षेत्रका बासिन्दालाई सदरमुकाम भैरहवा र बुटवल आउजाउमा कठिनाइ देखिपछि पुल निर्माणका लागि मैले पहल मात्र गरेको हुँ,” उहाँले भन्नुभयो ।
अहिले बुटवलदेखि दक्षिण बुटवल–लुम्बिनी खण्डसम्म १० वटा पुल निर्माण भएका छन, ती पुलको शिलान्यास र उद्घाटन मैले नै गरेको छु, गएर हेर्न सक्नुहुन्छ शिलामा प्रमाण देखिन्छ उहाँले थप्नुभयो । उहाँका अनुसार अहिले जिल्लाको पश्चिम हुँदै बग्ने दानव नदीमा १२ वटा पक्की पुल बनेका छन् ।
२०५१ सालमा चुनाव प्रचारमा आएका बेला जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दाले तिनाउ र दानव नदीको कटानबाट विस्थापित हुनुपर्ने गुनासो गरेका थिए ।

प्रकाशित : २६ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६