भुपाल थापा
कार्तिक २८ कपिलबस्तु ।
कपिलबस्तुको निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत पर्ने महाराजगंज नगरपालिका वडा नम्बर १० स्थित हर्दौनावासीका लागी नदीमा पुल बन्ने बिषय चुनावका बेला निक्कै चर्चामा रहन्छ । निर्वाचन नजिकिएसँगै यहाँका आम जनताको आशाको दियो हुर्ररर बल्छ, जब निर्वाचन सकिन्छ, तब हर्दौनावासीका बल्दै गरेका दियो पनि बिस्तारै निभ्दै जान्छ ।
स्थानीय निर्वाचन होस् या प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन होस्, यस क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारले आफ्नो मुख्य एजेण्डा (भाषण)का रुपमा गाउँ नजिकै रहेको हर्दौनामा पुल बनाउने बिषय राखेका हुन्छन् ।
झण्डै तीनदशक अगाडिदेखि बाणगंगा नदी अन्र्तगत पर्ने हर्दौनामा पुल बन्ने र हर्दौनावासीको जीवनयापनमा आमूल परिवर्तन आउने बिषय चर्चा हुन थालेपनि अहिलेसम्म प्रगति शून्य प्रायः छ । यो सिमित चुनावी एजेण्डा मात्रै बनेको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेकाले पनि आफ्नो चुनावी एजेण्डामा यो बिषयलाई मुख्य प्राथमिकता दिएका छन् । तर मतदाता विश्वस्त हुन भने सकेका छैनन् ।
पटक–पटक जनतालाई ढाँटेर चुनाव जित्ने नेताले यो योजना पूरा नगर्ने स्थानीयवासी बताउँछन् । जिल्लाको दक्षिणी क्षेत्रकै अतिआवश्यक आयोजना अन्तर्गत रहेको हर्दौना पुल निर्माणको काम सुरु गर्छौँ भनेको तीन दशक बित्दा पनि केही प्रगति हुन नसकेको स्थानीयवासी नन्दलाल चौहानले बताए ।
तीन दशक यता आएका हरेक चुनावमा उम्मेदवारहरु हर्दौनामा पुल बनाउने आश्वासन बाड्दै मत लिन्छन् । स्थानीय सोमनाथ कहार भन्छन्, “फेरी चुनाव आएसंगै मतदाता फकाउन उम्मेदवार नेता गाउँ पसेका छन्,” उनले आक्रोश पोख्दै भनेु, “तपाईहरुको अधुरो उधारो आश्वासन यहाँका स्थानीयले विश्वास गर्दैनन् ।”
उनी जस्तै हर्दौनाका रामतीरथ पाल गुनासो पोख्छन्, “२५ वर्षमा यस क्षेत्रबाट कति सांसद बने ? कति विधायक बने तर हर्दौनाबासीको पुलमा आवतजावत गर्ने सपना ज्यूँका त्यूँ छ । दलका नेता कार्यकर्ता उम्मेदवार प्रति आक्रोशित छन् । अब पुल बनाउन लिखित प्रतिबद्धता गर्नेसंग हाम्रो कुरा हुन सक्छ” उनले भने ।
महाराजगंज नगरपालिका–१०, हदौनामा पुल नहुँदा स्थानीयलाई १२ महिनै आवतजावत गर्न समस्या हुने गरेको छ । उनीहरु डुंगाकै भर पर्नुपर्छ । वर्षाका बेला उर्लदो भेलमा जोखिम मोलेर वारिपारी गर्नु परिरहेको छ । जिल्लाबाट डुंगा विस्थापित भईसकेको छ । हर्दौना बाहेक कहिपनि डुंगा चल्दैन् ।
हर्दौनामा मत माग्न पुग्ने उम्मेदवारले पुल आफूहरुले बनाउने एजेण्डा लिएरै पुग्छन् । उम्मेदवारको चुनावी एजेन्डा वर्षौदेखि बन्दै आएको छ । पंचायतदेखिनै संघीय लोकतान्त्रिक गणतन्त्र भईसक्दा पनि त्यहाका जनता डुंगाको भर पर्नु परिरहेको छ ।
उम्मेदवारले हरेक पटक चुनावमा हर्दाैना र यशोधरा गाउँपालिकाको ईटवा सुल्तनवापुर जोड्ने बाटोको पुल बनाउने आश्वासन दिँदै आएका छन् । यस पटक भने स्थानीयले उम्मेदवारको बोलीको विश्वास गर्न छाडेको स्थानीय चौहान दोहोर्याउँछन् ।
यहाँ पुलसंगै नदी कटानको समस्या पनि यस्तै कहालीलाग्दो छ । दुई पटक गाउँ नै सरिसकेको छ । फेरी पनि गाउँ नजिकैबाट नदी बगिरहेको छ । तर अहिलेसम्म यहा पुल बन्न नसक्दा स्थानीय त्रासमा यात्रा गर्न बाध्य छन् ।
यो सीमा क्षेत्रको महाराजगंज नगरपालिकाको हर्दौना गाउँ र यशोधरा गाउँपालिकाको ईटवा सुल्तनवापुरलाई जोड्ने मुख्य बाटो हो । महाराजगंजका दक्षिणी क्षेत्रमा जनतालाई सदरमुकाम आउजाउ गर्न निक्कै छोटो र सजिलो बाटो पनि यो हो । यशोधराका जनतालाई मुलुककै प्रमुख व्यापारिक केन्द्र कृष्णनगर आउजाउ गर्न यो बाटो सहज हुन्छ । यहाँ पुल नहुदा वर्षाका बेला १६ किमी घुमेर आवतजावत गर्नुपर्छ ।
वार्ड नम्बर १० मा ५ गाउँ छन् । यो भारतसंग सिमा जोडिएको क्षेत्र पनि हो । हर्दौनादेखि उत्तरमा कजरहवा हुदै गैडहवासम्म पक्की बाटो छ । हदौनामा पुल बने सदरमुकाम तौलिहवा जान निकै छाटो बाटो हुन्छ । यहा पुल बने हर्दौना मात्र नभएर जिल्लाकै विकासले फड्को मार्ने स्थानीय बताउँछन् ।
गाउँमा १५ वर्ष यता १० पटक बढी बाढी पसेर ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण गाउँ आसपासमा ७ जनाको ज्यान गुमाईसकेको स्थानीय बताउँछन् । नदीले अहिलेसम्म करिब ४ सय विगाहा जग्गा कटान गरेर बगर बनाएको छ । नदीले धार परिवर्तन गरेर पश्चिमतिर आउदा वर्षाका बेला गाउले रातभर जाग्राम बस्छन् । बाढीले वर्षेनी धान, गहँु र तरकारी बाली उनीहरुले राम्ररी स्याहार गर्न पाउदैनन् ।
बाणगंगा नदीको लक्ष्मणघाट, रामघाट, बिजगौरी र बर्गदीघाटमा पुल बनेर सञ्चालनमा आईसकेको छ । तर हर्दौनामा अहिलेसम्म आश्वासन बाहेक केही नपाएको स्थानीय बताउँछन् ।
यस क्षेत्रबाट एमालेबाट चुनावी मैदानमा रहेका निवर्तमान सांसद बृजेशकुमार गुप्ताले ०७७ मा पुलको टेण्डर भएपनि प्राविधिक कारणले रोकिएको भन्दै मतदाता फकाईरहेका छन् । आफुले चाडै नै पुल बनाउन ठोस पहल गर्ने समेत गुप्ताले बताउने गरेका छन् ।
उता यस क्षेत्रबाट सत्ता गठबन्धनको तर्फबाट काग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले वाणगंगा रिभर बेसिन परियोजना अन्तर्गत सिंचाई र तटबन्ध निर्माणका लागि ६ अर्बको परियोजनाको डिपिआर तयार भईसकेको भनेर मतादातालाई आश्वस्त पारिरहेका छन् । परियोजना संचालन पछि पुल नदी कटान मात्र नभई स्थानीयको आयआर्जनमा पनि उत्तिकै सहयोग पुग्ने दाबी उनको छ ।








प्रतिक्रिया