प्रदेश

निर्वाचन : चर्चामा रुपन्देही–२



रुपन्देही ३० कात्तिक । राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ ।
जिल्लामा वर्तमान र पूर्वगृहमन्त्रीको उम्मेदवारीले पनि बढी चर्चा कमाएको छ । गृहमन्त्री बालकृष्ण खाण क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ भने पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल क्षेत्र नं २ मा प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरु आपसमा प्रतिस्पर्धी त होइन तर उहाँहरुको उम्मेदवारी नै यस जिल्लाको निर्वाचनमा चर्चाको विषय बन्न पुगेको छ ।
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चुनावी मैदानमा हुनुहन्छ । पौडेलसँग राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । थापालाई सत्ता साझेदार गठबन्धनको समर्थन छ ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि थप चर्चा बटुलेको यो क्षेत्रमा एमाले उपाध्यक्ष पौडेल र थापाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको हो । जिल्लामा नेकपा एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरेकाले पौडेलललाई यी दुई दलको समर्थन छ । “गठबन्धनको उम्मेदवारी खारेजीले यो क्षेत्रमा पौडेललाई टक्कर दिनसक्ने अरू उम्मेदवार भएनन् जसले गर्दा पौडेललाई निर्वाचन केही सहज देखिएको छ”, राजनीतिक विश्लेषक ऋषि आजाद भन्नुहुन्छ”, जनमुक्ति पार्टीका उम्मेदवार थापा यो क्षेत्रको राजनीतिक वृत्तमा त्यति परिचित अनुहार नरहेकाले विकासे नेताको छवि बनाएका पौडेलको जित सहज देखिएको उहाँको भनाइ छ ।
एमाले उपाध्यक्षसमेत रहेका पौडेलले यो क्षेत्रबाट लगातार पछिल्ला तीन निर्वाचनमा जित हासिल गर्नुभएको थियो । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, ०७० मा माओवादीकै डा। बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका नेता युवराज गिरीलाई पराजित गर्नुभएको थियो । यस पटक अझै पराकिलो मतान्तरका साथ विजयी हुने योजना लिएर आफू चुनावी मैदानमा होमिएको पौडेल बताउनुहुन्छ ।
पौडेलले लगातार जित हासिल गरेकै कारण यसपटक पनि मतदाताको साथ पाउने विश्वास व्यक्त गरिरहँदा जनमुक्तिका उम्मेदवार थापा भने स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएकाले जित हासिल गर्ने दाबी गर्नुहुन्छ । यसअघिको निर्वाचनमा जनमुक्तीले राम्रो मत पाएको र अहिले गठबन्धनको समेत साथ भएपछि नतिजा आफ्नो पक्षमा आउने थापाको भनाइ छ । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज भएपछि विज्ञप्ति प्रकाशन गरेर सत्ता गठबन्धनले थापालाई सहयोग गर्ने बताएको हो ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६