प्रदेश

एघारौँ राष्ट्रिय कर दिवस मनाइँदै



काठमाण्डौ, ०१ मंसिर ।

आज एघारौँ राष्ट्रिय कर दिवस मनाइँदैछ । राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदैछ । यसवर्ष ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ कर दिवस मनाइँदैछ ।

आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान बिन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो ।

आय कर, मूल्य अभिवृद्धि कर, भन्सार महसुललगायत करका नियमित स्रोत हुन् । सरकारले करदातालाई स्वेच्छिक रूपमै करको दायरामा ल्याउने प्रयास गरिरहेको छ । विगतमा करलाई बाध्यताका रूपमा बुझिने गरे पनि पछिल्ला वर्ष कर तिर्ने प्रवृत्तिमा केही सुधार हुँदै गएको छ । राजस्वको दायरा विस्तार हुँदै गए पनि कर सङ्कलन लागत घटाउने, चुहावट न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरणका लागि कर प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ ।

नेपालमा करदातामैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साविकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी विक्रम सम्वत् २०५८ साल वैशाख २ गते कर विभागका रुपमा स्थापना गरिएको हो ।

आन्तरिक राजस्व विभाग अन्तर्गत नेपालमा कुल ८४ वटा कार्यलय छन् । विभागका अनुसार ठूला करदाता र मध्यमस्तरीय कारदाता कार्यलय गरी ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय रहेका छन् ।

गएको असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत गरी स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ४८ लाख १२ हजार ७ सय १७ रहेको छ । राष्ट्रिय कर दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायतले शुभकामना दिनुभएको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६