कुलराज भुसाल
कपिलवस्तु, १ मङ्सिर
लुम्बिनी प्रदेश सभाका निवर्तमान सांसद विष्णु पन्थीले कपिलवस्तुको उत्तर–पुर्वी क्षेत्रमा विकासको लहर ल्याएको बताउनु भएको छ । नेकपा (एमाले)बाट प्रदेश सभा सदस्यको उम्मेद्वार समेत रहनुभएका पन्थीले यस क्षेत्रमा अरुले ४० सालदेखि आश्वासन मात्र दिएका थुप्रै विकासका योजना आफ्नो कार्यकालमा सम्पन्न गरेको दावी गर्नुभयो ।
बिहीबार बाणगंगा नगरपालिका वडा नम्बर ३ भक्तौलीका मतदातासंग अन्तक्रिर्या गर्ने क्रममा पन्थीले यस्तो दावी गर्नुभएको हो । उहाँले भौतिक पूर्वाधार विकास तर्फ आफ्नो क्षेत्रमा मात्र ९ वटा पुल निर्माण कार्य अघि बढाउन सफल भएको बताउनुभयो । ‘हामीले चुनाव जितेपछि ९ वटा पुल निर्माण गरेका छौं । ४० सालदेखि पुल बनाइदिने आश्वास दिएर चुनाव जित्ने र जितेपछि बनाउन चासो नदिएका थुप्रै पुलहरु हामीले हाम्रो कार्यकालमै बनाउन सफल भएका छौं ।’ उहाँले भन्नुभयो, ‘यस क्षेत्रबाट पटक पटक चुनाव जितेर मन्त्री समेत भएका माननीयहरुकै गाउँमा समेत हाम्रो कार्यकालमा पुल निर्माण कार्य सम्पन्न भएको छ ।’
पन्थीले आफ्नो क्षेत्रमा १ सय २५ किलोमिटर सडक कालोपत्रे भएको समेत बताउनु भयो । उहाँले बनगाइ–डोहोटे सडक अन्तर्गतको भलवाड खण्डको सडक, कोइली बनगाईबाट जगदिशपुरहुदै तिलौराकोट जोडने सडक, लखनचोक भावपूरहुदै फटवा जोडने सडक, सुठौली कोपवा हुँदै देउवापार जोड्ने सडक लगायत अन्य थुप्रै भित्री सडकहरु निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । पन्थीले १ घर १ धारा पुर्याउने लक्ष्यका साथ १२ वटा ओभरहेड ट्ङकी निर्माण भएको र धारा वितरणको कार्य जारी रहेको बताउनुभयो । यस क्षेत्रका अधिकांश विद्यालय तथा क्याम्पसहरुको भौतिक पूर्वाधारको विकासमा धेरै प्रगति भएको र प्राविधिक शिक्षाको समेत सुरुवात भएको बताउनुभयो । उहाँले जनता नमूना मावि पिपरामा मात्रै ६ वटा प्राविधिक धारका विषय ल्याउन सफल भएको बताउनुभयो ।
पन्थीले खारखानीमा १२५ मेघावाटको सोलार प्लाण्ट निर्माण प्रक्रिया अघि बढेको, बाणगंगामै मृगौला डायलासिस सेवा सुरु भएको, राजापनीमा अन्तराष्ट्रिय स्तरको बहुउद्देश्यीय पार्क निर्माण प्रकृया अघि बढेको, जनता अवास कार्यक्रम मार्फत घर विहीनलाई घर निर्माण, सामुदायिक भवनहरु निर्माण लगायतका तमाम विकास निर्माणका कार्यहरु गरेर यस क्षेत्रका जनतालाई विकासको अनुभूति दिएको पन्थीको दावी छ ।
नेकपा (एमाले)ले ३ वर्ष बजेट ल्याए पछि सरकर ढलेको र कतिपय महत्वपूर्ण योजना गठबन्धन सरकारले काटेको कारण लक्ष्य अनुसार कम गर्न नसकिएको पन्थीले बताउनुभयो । उहाँले निर्माणाधीन योजनालाई प्रभावकारी रुपमा अघि बढाउन र दीर्घकालीन महत्वका नयाँ योजनाहरुको सुरुवात गरी कपिलवस्तुको कायापलट गर्न आफुले पुनः उम्मेद्वारी दिएको हुँदा मत दिएर विजयी बनाउन मतदातालाई अपिल समेत गर्नुभयो ।
अन्तक्रियामा स्थानीय मतदाताले विकास प्रेमी नेता एवं जनताका सुखदुःखका सारथी विष्णु पन्थीले पुनः उम्मेद्वारी दिएकोमा आफुहरु निकै उत्साहित भएको बताउदै जितको लागि अग्रिम शुभकामना समेत दिएका थिए ।
१ मंसिर २०७९, बिहिबार








प्रतिक्रिया