जीवनशैली

रिक्साले बनायो रोजगार



नेपालगञ्ज, मङ्सिर ७ गते । बाँकेको ग्रामीण क्षेत्रका अधिकांश बेरोजगार युवाका लागि अटो रिक्सा रोजगारीको प्रमुख माध्यम बन्दै गएको छ । जिल्लामा अटो रिक्सा र ब्याट्री रिक्सा भित्रिएपछि धेरै बेरोजगार युवाले त्यस्ता सवारीसाधनलाई रोजगारीको माध्यम बनाएका हुन् ।
सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्ममा अटो रिक्सा र ब्याट्री रिक्साको पहुँच भएपछि सयौँ युवाले विदेश जाने सोच त्यागेर आफ्नै गाउँसरहमा रोजगारीमा लागेको बताएका छन् ।
तीन वर्ष विदेश बसेर फर्किएका बाँके, डुडुवाका सोहराब खानले पुनः विदेश जाने तयारी गरिरहेकै समयमा अटो रिक्सा चलाउन थालेपछि राम्रो आम्दानी हुँदा विदेश जाने सोच त्यागेको बताउनुभयो ।
यस्तै धारणा छ, नेपालगन्ज–११ का युवा नरेश गुप्ताको । धेरै प्रयास गरे पनि रोजगारी नपाएपछि विदेश जाने सोच बनाइरहेकै बेला आफन्तले दिएको ब्याट्री रिक्सा चलाउने सल्लाहअनुसार काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले अहिले अटो रिक्सा चलाएरै मासिक ३० देखि ४० हजार रुपियाँ आम्दानी गरिरहेको जानकारी दिनुभयो ।
यस्तै कोहलपुर–३ का रमेश थारुले अटो रिक्सा किनेर ग्रामीण क्षेत्रमा चलाउँदा राम्रो आम्दानी भइरहेको बताउनुभयो । यसबाट ग्रामीण क्षेत्रका जनतालाई सेवासँगै आफ्नो रोजगारीसमेत बनेकाले आनन्द मिलेको उहाँको अनुभव छ । घरमै बसेर मासिक ४० हजार रुपियाँसम्म आम्दानी भएकाले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ ।
खान, गुप्ता र थारु त उदाहरण मात्र हुन् । बाँकेमा अहिले करिब १५ हजार युवाले अटो रिक्सा र ब्याट्री रिक्सा चलाउने कामलाई आफ्नो रोजगारी बनाउनुभएको छ । ब्याट्री रिक्साको नेपालगन्जस्थित थोक बिक्रेता शादाब इन्टरप्राइजेजका सञ्चालक कामरान राईले हालसम्म करिब १२ हजारभन्दा बढी ब्याट्री रिक्सा बाँकेमा बिक्री गरेको जानकारी दिनुभयो । रिक्सा खरिद गर्नेमा अधिकांश युवा रहेका उहाँले बताउनुभयो । अधिकांश बेरोजगार युवा नै रिक्सा खरिदका लागि आउने गरेकाले किस्ताको सुविधासहित रिक्सा बिक्री गरिरहेको जानकारी उहाँले दिनुभयो ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६