प्रदेश

अतिक्रमित संरचना हटाइँदै



नेपालगञ्ज १२ मङ्सिर । नेपालगञ्जका विभिन्न ठाउँमा नाला र सडक अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएको सडकपेटी तथा सरकारी जग्गा खाली गराउन डोजर लगाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट आफैँ डोजर लिएर अतिक्रमण गरी बनाइएका संरचना हटाउन निस्किनुभएको छ ।
नेपालगञ्जका अधिकांश ठाउँमा सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएकाले सर्वसाधारण र सवारीसाधन आवागमनमा समस्या भएको छ । यस्ता अतिक्रमण हटाउन प्रमुख विष्ट आफैँ अगाडि सर्नुभएको हो । सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि बाध्य भएर त्यस्ता संरचना हटाउन आफैँ डोजर लिएर बजारमा निस्किएको विष्टले बताउनुभयो ।
उहाँका अनुसार शनिबारबाट नेपालगञ्जको बीपी चोकबाट सडकपेटी खाली गराउन थालिएको छ । नेपालगञ्जलाई सफा, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न यो अभियान सुरु गरिएको उहाँको भनाइ छ । सडकपेटी कब्जा गरी बजार व्यवसाय सञ्चालन गर्दा सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न र सवारी चलाउन गाह्रो भएपछि त्यसलाई व्यवस्थित गर्न यस्तो काम सुरु गरिएको उहाँले बताउनुभयो । बजारलाई सुन्दर र व्यवस्थित बनाउन अतिक्रमण हटाउन थालिएको नगरप्रमुख विष्टको भनाइ छ ।
उपमहानगरका अधिकांश बजार क्षेत्रमा ढल निकासको नालामाथि पनि अतिक्रमण गरिएको पाइएको छ । नालामाथि अतिक्रमण गरेर पक्की संरचनासमेत निर्माण गरिएकाले आवागमनमा समस्या भएको स्थानीयवासीको गुनासो छ ।
नेपालगञ्जको सदरलाइन, एक्लैनी, इदगाह रोड, सुर्खेतरोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडका अधिकांश नाला र सडकपेटीलाई कब्जा गरेर व्यापार गरिएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहका अनुसार बजारको सडकपेटी जतिपटक खाली गराए पनि व्यवसायीले अटेरी गरेकाले बारम्बार समस्या हुँदै आएको छ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६