प्रदेश

लुम्बिनीमा मिलीजुली सरकारका लागि जोडघटाउ शुरु



रुपन्देही, १४ मंसिर । लुम्बिनीमा प्रदेश सरकार गठनका लागि कुनै दलले बहुमत पाउन नसकेपछि मिलीजुली सरकारका लागि जोडघटाउ शुरु भएको छ ।

प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सदस्यीय प्रदेश सभामा दलको मात्र होइन, सिंगो गठबन्धनको पनि बहुमत आउन सकेको छैन । यहाँ सरकार बनाउन कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ ।

प्रत्यक्षमा सबैभन्दा बढी १८ सिट र समानुपातिकमा पनि सबैभन्दा बढी मत पाएर पहिलो दल नेकपा एमाले बनेको छ । सत्ता गठबन्धनको नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ५, लोकतान्त्रिक समाजवादीले २ सिट गरी २४ सिट जितेका छन् । एमालेले १८, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ गरी २२ सिट जितेका छन् ।

नयाँ दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीले २ र जनमत पार्टीले एक सिट जितेका छन् । माओवादी केन्द्रका तीनजना बागी (स्वतन्त्र) उम्मेदवारले पनि जितेका छन् ।

समानुपातिकको अन्तिम नतिजा आइनसकेकाले कसको नेतृत्वमा सरकार बन्छ भनेर यकिन गर्न कठीन छ । समानुपातिकको नतिजा आउँदा पनि अहिलेका दुबै गठबन्धनलाई बहुमत नपुग्ने देखिन्छ । अर्थात प्रदेशमा नयाँ दलको रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र ३ जना स्वतन्त्रको साथ नलिई दुबै गठबन्धनलाई बहुमत नपुग्ने अवस्था छ ।

ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले सरकार गठनको जोडघटाउ र आन्तरिक गृहकार्य भने गरिरहेका छन् । नेकपा एमालेबाट भावी मुख्यमन्त्रीका दावेदार पोलिटब्युरो सदस्य लिला गिरीले कुनै दलको बहुमत नपुगेकाले मिलिजुली सरकार नै बन्ने बताए । ‘मिलिजुली सरकार बन्छ, तर कसको पासा पल्टिन्छ यसै भन्न सकिन्न,’ गिरीले भने । पार्टीको संसदीय दलको बैठक बसेर दलको नेता चयन गरेपछि सरकार गठनका लागि प्रकृया अघि बढ्ने पनि उनले बताए ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार रुपन्देही १ (२) बाट निर्वाचित अब्दुल रज्जाक गद्दीले अहिलेको सत्ता गठबन्धनलाई बहुमत पुग्ने र आफूहरुको सरकार बन्ने दावी गरे ।

२०७४ को प्रदेश सभा निर्वाचनपछि लुम्बिनीमा एमाले र माओवादीले दुई तिहाइ नजिकको ६ जनाको मन्त्रिमण्डल र सात मन्त्रालयसहितको सरकार बनाएका थिए । तत्कालीन नेकपा विभाजनपछि भने माओवादी केन्द्रको नेतृत्वमा एक स्वतन्त्र सांसद समेतको समर्थनमा ५ दलीय सरकार बनेको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीले १३ मन्त्रालय र राज्यमन्त्रीसहित १७ जना मन्त्री पुर्याएका थिए ।

यसपटक जुन दलको नेतृत्वमा सरकार बने पनि कम्तीमा आठ दलको उपस्थिति हुने देखिन्छ । ‘प्रदेश सभामा नयाँ दलहरुको उदयले प्रदेश सरकार झनै भद्दा, खिचडी र अस्थिर बन्ने निश्चित भयो,’ जसपाका नेता समेत रहेका राजनीतिक विश्लेषक मनिकर कार्कीले भने । अनलाईन खबर

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६