कपिलवस्तु १५ मंसिर । लुम्बिनी प्रदेशमा ठुला दलका तीन प्रदेश अध्यक्षहरू नै आम निर्वाचनमा पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका प्रदेश अध्यक्षहरू २०७९ को संसदीय निर्वाचनमा पराजित भएका हुन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, माओवादीका प्रदेश अध्यक्ष सुदर्शन वराल, जसपाका प्रदेश अध्यक्ष अशोक यादव प्रत्यक्षतर्फ उम्मेदवार थिए । तर यी तीनै जना पराजित भए ।एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल भने उम्मेदवार थिएनन् । राप्रपाका प्रदेश अध्यक्ष प्रदीप उदय भने समानुपातिकतर्फ छन् । जनमत पार्टीका लुम्बिनी प्रदेश संयोजक राजेन्द्र गुप्ता पनि उम्मेदवार थिएनन् । लोसपाले भने लुम्बिनी प्रदेश अध्यक्ष तोकेको छैन ।यस्तै, नयाँ दलका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि अहिलेसम्म प्रदेश अध्यक्ष चयन गरेको छैन ।
ठुला दलको सिट खोसे नयाँ दलले :
साना तथा नयाँ दलले लुम्बिनी प्रदेशसभा निर्वाचनमा ठुला दलहरुलाई नै स्तब्ध तुल्याएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेले २०७४ सालमा जितेका केही क्षेत्रमा अहिले साना दलले जित हासिल गरेका हुन् ।राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका केही उम्मेदवारले यो पटक ठुला भनिएका दलहरुको सिट खोसेका हुन् । नागरिक उन्मुक्ति पार्टीले बर्दियाको संघ र प्रदेशमा माओवादीको सिट खोसेको छ । बर्दिया क्षेत्र नम्बर २ मा २०७४ सालमा माओवादीका सन्तकुमार थारु निर्वाचित भएका थिए भने अहिले त्यहाँ सत्ता गठबन्धनबाट माओवादीकै सुरेन्द्र पन्थ उम्मेदवार थिए ।
तर सो क्षेत्रमा स्वतन्त्र रूपमा उम्मेदवार बनेका लालबीर चौधरी निर्वाचित भए । उनी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीका बुबा हुन् ।यो क्षेत्रको प्रदेशसभा २ मा माओवादीका दिनेश थारुले जितेका थिए । तर अहिले नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरीले जितेका छन् ।यस्तै क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै धर्मबहादुर चौधरी विजयी भएका छन् । सो क्षेत्रमा २०७४ को निर्वाचनमा माओवादीका तिलकराम शर्मा विजयी भएका थिए ।रुपन्देही र कपिलवस्तुमा नेपाली कांग्रेसका केही सिट साना दलले खोसेका छन् ।
रुपन्देहीको ५ (ख) बाट जनमत पार्टीका चन्द्रकेश गुप्ताले कांग्रेसका फखरुद्दिन खानलाई पराजित गरे । खान २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । गुप्ताले १२ हजार ९४१ मत प्राप्त गर्दा खानले ११ हजार ६५१ मत पाए ।यस्तै २०७४ सालमा नेपाली कांग्रेसले जितेको कपिलवस्तुको ३ (२) मा यो पटक राप्रपा विजयी भएको छ । यहाँ नेपाली कांग्रेसका वीरेन्द्र कनौडियालाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादव विजयी भए ।
२०७४ सालमा एमाले जितेको रुपन्देही क्षेत्र नम्बर १ ९१० मा पनि यो पटक राप्रपाले जितेको छ । यहाँ राप्रपाका आशिषकुमार चौधरी निर्वाचित भएका छन् ।लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमालेले १८, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ५, लोसपाले २, जसपाले २, माओवादीबाट बागी उठेका ३, राप्रपाले २, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले १ सिट जितेको छ ।








प्रतिक्रिया